-तीर्थ खतिवडा

यो कोषबाट शवहरू नेपाल पठाउने भन्दा पनि मर्न जोगाउने कार्यक्रमहरु आयोजना गर्न सक्नुपर्छ ।

“Walk For Student Welfare” भन्ने नाराका साथ एन आर एन अस्ट्रेलियाले देशभर कार्यक्रम गर्दै छ | कार्यक्रमलाई यो स्तरमा ल्याउन कति स्रोत र साधनहरु खर्च भएको छ त्यो सहजै अनुमान गर्न सकिन्छ | यो कार्यक्रम गर्न पक्कै पनि सजिलो छैन तर अपसोच उक्त कार्यक्रममा सोचे अनुरुप विद्यार्थीको सहभागिता नहुने सम्भावना बढी देखिन्छ | एनआरएनले आयोजना गरेका कार्यक्रममा किन विद्यार्थीहरु खासै आकर्षित हुन सकेका छैनन ? किन विद्यार्थीहरुले खासै चासो दिएनन् ? विद्यार्थीहरुकै लागि आयोजना गरिएका कार्यक्रममा किन उपस्थित हुदैनन् विद्यार्थीहरु ? ज्ञाप कहानिर छ ? यो ज्ञाप पुरा गर्न एनआरएन लगायत पत्रपत्रिकाले कस्तो भूमिका निर्वाह गरे ? विद्यार्थीहरुले के प्रयास गरे ? यस्ता अनगिन्ती प्रश्नहरु उठ्न सक्दछन | अब एकछिन त्यसै बारे चर्चा गरौ |

१. बिद्यार्थी कल्याण कोष कि अक्षय कोष ?
करिब १ लाख अस्ट्रेलियन डलर उठाउने उदेश्यले आयोजना गर्न लागिएको यो कार्यक्रममा एनआरएनले त्यो भन्दा बढी नै डलर उठाउन सफल हुन्छ, यसमा शंका छैन | यहा इज्जतको पनि कुरा छ | तर बिद्यार्थी भिसामा रहेका नेपालीहरुलाई सहयोग गर्ने उदेश्यले स्थापना गर्न लागिएको यो कोषलाइ कसरि उपयोग गरिन्छ ? भनेर आयोजकले समुदायलाई अबगत गराउन नसकेको हो कि भन्ने देखिन्छ | विशेष गरेर बिद्यार्थीहरुलाई | धेरै व्यक्तिहरु अझै पनि रनभुल्लमा छन | यो कोषको कुरा चलेसंगै कतिपय बिद्यार्थी त अब एनआरएनले कोठा भाडा र कलेजको फी पनि तिरिदिन्छ रे भनेर भ्रममा पनि छन् | बिगतमा पनि एनआरएनले कोठा भाडा, कलेजको शुल्क या बिरामी हुदा उपचार खर्च तिरिदियोस भनेर छिटफुट इच्छाहरु सामजिक संजालमा नआएका भने होइनन | केहि समय अगाडि यहि कोषको बारेमा विशेष जानकारी उपलब्ध गराउन एनआरएन ले “Student Information Session” को आयोजना समेत गरेको थियो तर उक्त कार्यक्रमबाट पनि प्रष्ट सन्देस नगएको देखिन्छ | त्यहि भएर होला उक्त कार्यक्रममा विद्यार्थीहरुको सहभागिता एकदमै न्यून थियो |

यो बिद्यार्थी कल्याण कोष हो या अक्षय कोष हो ? यो कुरा पनि प्रस्ट पार्नु उपयुक्त हुन्छ कि ? कतिपय अबस्थामा अक्षय कोषमा राखियको रकमको ब्याज मात्रै उपयोग गरिन्छ | तसर्थ एनआरएन ले यो कोषलाई विद्यार्थीका के कस्ता समस्यामा कसरि उपयोग गरिन्छ भनेर सरल भाषामा सबैले बुझ्ने गरि जानकारी उपलब्ध गराउदा बिद्यार्थी सहभागी हुने बाताबरण देखिन्छ भन्नु उपयुक्त नै होला | पक्कै पनि एन आर एनले विद्यार्थीको कलेजको शुल्क, कोठाभाडा या बिरामी हुदा उपचार खर्च तिर्न सक्दैन, यो कोषबाट तिर्दैन र यो ब्यबहारिक पनि छैन | यो एनआरएन मात्र होइन विश्वमा स्थापित कुनै पनि संस्थाले त्यसो गर्न सक्दैनन् तसर्थ उक्त आशमा विद्यार्थीले बस्नु हुदैन | संकलित रकमलाई कसरि उपयोग गर्ने भनेर एनआरएनले योजना बनाएको छ भने त्यसलाई सार्बजानिक गरे धेरै राम्रो |

२. कोषको संयोजन, संयोजक र प्रयोग
हामी सबैलाई थाहा भएको कुरा हो डिप्लोमा देखि पीएचडि सम्म अध्ययन गर्न अस्ट्रेलिया आएका छन् नेपाली बिद्यार्थी | त्यसैले बिद्यार्थी प्रतिनिधिकै संयोजकत्वमा यो कोषको स्थापना, वितरण तथा अनुगमन को अबधारणा अघि सारेको भए बढी प्रभाबकारी पो हुने थियो कि ? किन एनआरएनकै प्रतिनिधि केन्द्रमा रहनु पर्यो ? एउटा बुझ्नु पर्ने कुरा के हो भने विद्यार्थीका समस्या बिद्यार्थीले नै हल गर्दै आएका छन् | हामीलाई भन्दा बढी उनीहरुलाई थाहा छ उनीहरुका समस्या | चाहे त्यो क्यान्सरले थला परेको बिद्यार्थी होस् ,चाहे कलेजको फी तिर्न नसकेर भौतारिएको बिद्यार्थी होस् | चाहे काम नपाएर भौतारिएको बिद्यार्थी होस ; चाहे मन खोलेर दुखः बिसाउने साथीको खोजीमा रहेको बिद्यार्थी होस् | एउटा बिद्यार्थी नै काम आएको छ | सामजिक संजालको मात्रै उपयोग गरेर कम्तिमा दैनिक ५० / १०० जना नेपाली विद्यार्थीहरु लाई काम र कोठाको लागि नेपाली बिद्यार्थीहरुले नै सहयोग गरिरहेका छन् | विशेष गरेर आर्थिक समस्याको कारणले नै धेरै समस्या उब्जियका छन, अपबाद बाहेक | क्लिनिङ्ग, हाउस किपिंग जस्ता सामान्य काम र बस्ने कोठाको जानकारी सामाजिक संजालमा राखी सकेको हुदैन फोन कल र म्यासेजको ओइरो आउदछ | विद्यार्थीहरुले बिगत लामो समयदेखि यस्ता जानकारीहरु सेयर गरेर काम र कोठाको खोजीमा रहेका विद्यार्थीहरुलाई सहयोग गरिरहेका छन | यसको लागि कति धैर्यता र समय चाहिन्छ भनिरहनु नपर्ला | किन यस्ता विद्यार्थीहरु यो महाअभियानमा सामेल हुन इच्छा गरेनन ?

केहि समय अगाडिको कुरा हो २ / ३ जना विद्यार्थीको टिमले झन्डै १ लाख डलर रकम संकलन गरे क्यान्सर पिडित अर्को नेपाली विद्यार्थीहरुलाई नया जीवन दिए त्यो पनि नेपालीहरु ज्यादै नै कम रहेको स्टेटबाट | के यी विद्यार्थीहरुले यस्तो कार्यलाई नेतृत्व दिन सक्दैन थिए ? के हामी अभिभावकको भूमिकामा रहेर उनीहरुलाई आफुले जानेको कुरा सिकाएर सहयोग गर्न सक्दैन थियौ ? ३ टा स्टेटमा त बिद्यार्थी संगठन दर्ता पनि भैसके | उनीहरुलाई पनि एनआरएनमा उचित स्थान दिएर पनि त काम गर्न सकिन्थ्यो नि होइन र ? सायद एनआरएन उनीहरुको पनि हो भन्ने अनुभूति भएको थियो भने यी संगठन / संस्थाहरु खुल्ने थिएनन होला ? कतै यो पनि एउटा कारण त होइन बिद्यार्थीहरु एनआरएनप्रति आकर्षित हुन नसक्नुको | स्मरण रहोस केहि समय अगाडी अर्को एउटा संस्थाले पनि विद्यार्थीको लागि १० हजार डलरको कोष खडा गर्ने उदेश्यले कार्यक्रम गरेको थियो तर कार्यक्रम पछाडी भने खासै अपडेट भएको छैन |

केहि समय अगाडिको कुरा हो २ / ३ जना विद्यार्थीको टिमले झन्डै १ लाख डलर रकम संकलन गरे क्यान्सर पिडित अर्को नेपाली विद्यार्थीहरुलाई नया जीवन दिए त्यो पनि नेपालीहरु ज्यादै नै कम रहेको स्टेटबाट | के यी विद्यार्थीहरुले यस्तो कार्यलाई नेतृत्व दिन सक्दैन थिए ?

के मानसिक रोग, घरेलु हिँसा र दुर्व्यसनीको शिकार भएका नेपाली बिद्यार्थीहरुको उत्थानको लागि यो रकम प्रयोग गर्न सकिन्छ ? के लेबर काम गर्दै गरेका बिद्यार्थीहरुलाई सेमी स्किल जब र स्किल जब सर्चको लागि सहयोग पुग्ने खालका कार्यक्रम आयोजना गर्न यो रकम उपयोग गर्न सकिन्छ ? के बिद्यार्थी भएको नाताले उनीहरु माथि काममा गरिने ज्याला लगायतका अन्य शोषण विशेष गरेर नेपालीहरुबाटै हुने शोषणको कानुनि उपचार खोज्न उनीहरुलाई सहयोग गर्न सकिन्छ ? के मानसिक तनाबको कारण कलेज छोडेर शरणार्थी भिसा हाल्न अग्रसर विद्यार्थीहरुलाई सम्झाउन यो कोष उपयोग गर्न सकिन्छ ? के भिषाका शर्तहरु तोड्दा आइपर्ने कानुनि समस्याको बारेमा अबगत गराउने कार्यक्रमको आयोजना गर्न यो कोष उपयोग गर्न सकिन्छ ? सायद विद्यार्थीका समस्या यस्तै यस्तै होलान | र यी कुरा त बिद्यार्थीलाइ नै थाहा छ नि होइन र ?

के मानसिक तनाबको कारण कलेज छोडेर शरणार्थी भिसा हाल्न अग्रसर विद्यार्थीहरुलाई सम्झाउन यो कोष उपयोग गर्न सकिन्छ ? के भिषाका शर्तहरु तोड्दा आइपर्ने कानुनि समस्याको बारेमा अबगत गराउने कार्यक्रमको आयोजना गर्न यो कोष उपयोग गर्न सकिन्छ ?

३. अर्थ
धेरै साथीहरु यो महान कार्य हो १०० / २०० केहि पनि होइन भन्दछन | साथीहरु झन्डै ६५ वटा संस्था छन | प्रत्येक दिन कम्तिमा पनि एउटा कार्यक्रम हुन्छन सिड्नीमा र सस्तो भनेको ५० डलर | त्यसमाथि मुभी, इभेन्ट, फेसबुक र भाइबर ग्रुपको त कुरै नगरौ | यो प्रोग्रामलाई त ४ जनाको डिनर भनौला भोलि पाथिभरा श्रद्दश्रमको लागि के भन्ने ? रुपन्देही समाजले छिट्टै अनाथ तथा आपङ बाल बालिकाकाको जीवन सहज बनाउन अर्को कार्यक्रम गर्दै छ त्यसलाई के भन्ने ? चितवन समाज, झापाली समाज, सुदुर पश्चिमाञ्चल समाज, म नेपाली आदिलाई के भन्ने ? अस्ति भर्खरै ३ ,४ ओटा महत्वपूर्ण कार्यक्रम भए | सायद दिनमा एउटा भन्दा अन्याय नहोला | अलिक थोरै शुल्क राखेर धेरै नेपाली माझ पुग्ने गरि कार्यक्रम गरेको भए सहभागिता पनि बढी हुन्थ्यो कि ? आर्थिक भार पनि त कम हुन्थ्यो नि होइन ? मान्छे पनि चिनिन्थ्यो, कुरा मात्रै गर्छन कि मन पनि फुकाउछन | समुदायमा भैरहेका अन्य परोपकारी कार्यहरु पनि उत्तिकै महत्वपूर्ण छन भन्ने कुरा पनि हामीले बिर्सनु हुन्न |

४. त्यसो भए यो कोषलाई कसरी प्रभावकारी बनाउन सकिएला त ?

क) समस्यामा परेका बिद्यार्थी , बिद्यार्थीसंग नजिकैबाट काम गरिरहेका बिद्यार्थी र संस्थासंग छलफल गरेर ब्यबहारिक रुपमा पनि सम्भव हुने कार्यक्रमको रुपरेखा तयार गर्ने |
ख ) उक्त कार्यक्रम एनआरएन आफैले महिनामा २ पटक घुम्ती टोलीको रुपमा आयोजना गर्ने |
ग) एनआरएन एक्लैले यस्ता कार्यक्रम गर्न बढी भार हुने भय अस्ट्रेलियामा दर्ता भए क नेपाली संस्थाहरुलाई कार्यक्रम गर्न जिम्मेवारी दिने | २६ हप्ता (२ हप्तामा एक कार्यक्रम) २६ वटा फरक स्थान २६ वटा संस्था | प्रत्येक संस्थाको समुदायमा छुट्टै विश्वास, अस्तित्व र आत्मियता हुने भएको हुदा यो बढी प्रभाबकारी पनि हुन सक्दछ |
घ) एनआरएन ले विद्यार्थीका समस्यामा काम गर्दा आउने कानुनि समस्या र बाधा अड्चनको पहिचान गरि तेसको समाधान तर्फ ध्यान दिने |

यो समस्या एनआरएन एक्लैले समाधान गर्न पक्कै पनि असम्भव छ तसर्थ मिलेर हल गर्न प्रयास गरियो र सबैले सकेको सहयोग गरियो भने विद्यार्थीहरुलाई पक्कै पनि केहि राहत मिल्ने छ | यो कोषबाट शवहरू नेपाल पठाउने भन्दा पनि मर्न जोगाउने कार्यक्रमहरु आयोजना गर्न सक्नुपर्छ । यसो हुन सक्यो भने अर्को बर्ष सदस्य पनि बढ्ने छन , संस्था प्रति विश्वास बढ्ने छ | समग्रमा हामी सबैको कल्याण हुने छ |

यो विचार खतिवडाको निजी ब्लग tirthakhatiwada.blogspot.com बाट साभार गरिएको हो ।

Comments