काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा सवारी दुर्घट्नामा व्यापक वृद्धि भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १ देखि २० फागुनसम्म अर्थात पछिल्लो २० दिनमा मात्र उपत्यकामा तीन सय ८१ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा १७ को मृत्यु, ११ जना गम्भीर घाइते तथा दुई सय २२ जना घाइते भएको महाशाखाको तथ्यांक छ ।

फागुनको दुर्घटनामा मृत्यु भएको तथ्यांक अघिल्ला महिनाको भन्दा दोब्बर हो । पुस र माघमा उपत्यकामा आठ–आठजनाको मृत्यु भएको थियो । महाशाखाका अनुसार साउन यताको तथ्यांकले उपत्यकामा दैनिक करिब १५ दुर्घटना हुने गरेको देखाएको छ । साउनमा चार सय ९५ दुर्घटना र १६ को मृत्यु, भदौमा चार सय ४८ को दुर्घटना र १६ को मृत्यु भएको थियो ।

असोजमा तीन सय २८ दुर्घटना र १३ को मृत्यु, कात्तिकमा दुई सय ५३ दुर्घटना र आठको मृत्यु भएको महाशाखाले जनाएको छ। मंसिरमा तीन सय ५४ दुर्घटना र १८ को मृत्यु, पुसमा चार सय २१ दुर्घटना र आठको मृत्यु, माघमा चार सय ५० दुर्घटना र आठजनाको मृत्यु भएको थियो ।

ट्राफिक प्रहरीका अनुसार करिब ९० प्रतिशत चालकको लापरबाही कारण दुर्घट्ना हुने गरेको छ ।

Comments