काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले लोकतन्त्रलाई संस्थागत गर्न र मुलुकको समृद्धिकोलागि पार्टी अगाडि बढ्ने बताएका छन् । पार्टीको १३ औं महाधिवेशनको उद्घाटनसत्रमा धारणा राख्दै काँग्रेसका शीर्ष नेताहरुले त्यसका लागि सवल नेतृत्व आवश्यक हुनेमा जोड दिएका छन् ।

उद्घाटनसत्रमा नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले इतिहासका महत्वपूर्ण राजनीतिक परिवर्तनको लागि पार्टीले अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै अव प्राप्त उपलव्धिलाई संस्थागत गर्न पनि नेपाली कांग्रेस नै लागिपर्ने बताउँनुभयो । पुरानो तरिकाले अव पार्टी सञ्चालन हुन नसक्ने भन्दै उहाँले व्यावहारिक पद्धती र तरिकाको आवश्यकता रहेको बताउँनुभयो । सवल नेतृत्वको आवश्यकता मध्यनजर गर्दै पौडेलले सभापतिमा आफूले उम्मेदवारीको घोषणा गरेको जानकारी दिनुभयो ।

कांग्रेसका अर्का वरिष्ठ नेता शेरवहादुर देउवाले पार्टीलाई एकिकृत गर्न र मुलुकको समृद्धिको लागि आफूले सभापतिको उम्मेदवारी घोषणा गरेको बताउँनुभयो ।

यस्तैगरी कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले पार्टी अव युवा नेताहरुको अगुवाईवाट अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । त्यसैले तिनै युवाहरुको नेतृत्व गर्दै आफूले सभापतिमा उम्मेदावारी दिएको महामन्त्री सिटौलाले बताउँनुभयो ।
नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने, गुटगत राजनीतिको अन्त्य गर्ने र मुलुकको समृद्धिकोलागि ठोस कार्यक्रम तय गर्ने सन्दर्भमा शीर्ष नेताहरुमाथि तीव्र दवाव रहँदै आएको छ ।

पौडेल र देउवा दुवैले समृद्ध मुलुक निर्माणका लागि पार्टीको आगामी नेतृत्वमा आफूले दावी गरेको स्पष्ट पार्नुभएको छ ।

Comments