काठमाडौं । सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनतकुमार बस्नेत लगायत ७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पूर्व महानिरीक्षक वस्नेत लगायत सात जना विरुद्ध झुटा विल भर्पाई वनाई सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा सोमवार मुद्दा दायर गरेको हो । आरोपपत्रमा निजहरुलाई फरार प्रतिवादी वनाइएको छ । ०६६ वैशाखदेखि ०६८ श्रावण महिनासम्म सशस्त्रमा महानिरीक्षक पदमा रहँदा मातहत युनिटमा सामान ढुवानीमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । बस्नेतविरुद्ध ९ करोड १५ लाख ८१ हजार रुपैयाँ बराबरको विगो माग दावी गरिएको छ ।

यस्तै यही प्रकरणमा सामेल भएको भन्दै सशस्त्र प्रहरी निरीक्षक विनबहादुर थापाविरुद्ध पनि त्यति नै रकमको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । यस्तै सशस्त्र प्रहरी निरीक्षक मनुहिरा महतविरुद्ध ७३ लाख र शिबबहादुर कार्की विरुद्ध २३ लाख रुपैयाँ माग दावी गर्दै मुद्दा दायर भएको विशेष अदालतका प्रवक्ता जगन्नाथ पौडेलले जानकारी दिनुभयो ।
यस्तै सशस्त्र प्रहरी नायब निरीक्षक निलबहादुर श्रेष्ठ र लेखबहादुर खत्रीले १ करोड ६ लाख रुपैयँँ भ्रष्टाचार गरेको ठहर गरेको र अर्का सशस्त्र प्रहरी नायब निरीक्षक देबेन्द्र कुमार श्रेष्ठविरुद्ध ८३ लाख रुपैयाँ माग दावी भएको छ ।

उनीहरु सबैले नियमविपरीत विभिन्न कर्मचारीको नाममा ढुवानी प्रयोजनको लागि भन्दै पेश्की लिएको देखाएर भ्रष्टाचार गरेको अनुसन्धानबाट देखिएको अख्तियारको दाबी छ । उनीहरु विरुद्ध भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफ ८ एक र दफा ८ एक को ङ अनुसार कसुर गरेको दफा ८ एक वमोजिा नै सजायको माग दावी गरी विशेष अदालतमा मुद्या दायर भएको विशेषका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

विशेष अदालतले पूर्व सशस्त्र प्रहरी महानिरीक्षक वस्नेत लगायतका प्रतिवादीलाई १५ दिन भित्र अदालतमा उपस्थित भइसक्ने गरी म्याद समेत जारी गरिसकेको छ ।

Comments