काठमाडौं । लामो समयदेखि जारी मधेस आन्दोलन र नाकाबन्दी यसै साता फिर्ता लिने मनस्थितिमा आन्दोलनरत मधेसी मोर्चा पुगेको छ ।

सरकार र प्रतिपक्षी नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको पछिल्लो छलफलपछि ब्युँताइएको कार्यदलस्तरमा सीमांकनका विषयमा केही लिखित सहमति हुने र त्यसपछि मोर्चा्भित्र पनि समयावधी तोकेर आमहड्ताल र नाकाबन्दी फिर्ता लिने तयारी सुरु भएको छ ।

एक हप्ता भित्र नाटकीय ढंगमा केही नयाँ कुरा हुने मोर्चाको सचिवालयस्तरका एक नेताले भने । यसबारेमा मोर्चाको शीर्षस्तरमै छलफल भइरहेको उनले बताए ।

मोर्चाका शीर्ष नेतृत्वतहमा पनि नाकाबन्दी खोल्ने विषयमा अझै एकमत भइनसकेपनि आन्दोलनको स्वरुप परिवर्तन गर्ने विषयमा भने सबै नेताहरू एकमत भएका छन् । नाकाबन्दी समयावधी तोकेर फिर्ता लिएपनि आन्दोलनलाई भने कुनै न कुनै रुपमा जारी नै राख्ने तयारी गरिएको छ ।

केही समय विराम लिएर समयावधी तोकी आमहड्ताल र नाकाबन्दी फिर्ता लिने समबन्धमा मोर्चाको शीर्ष तहमा छलफल भईरहेको मोर्चाका एक नेताले बताए । तोकिएको समयावधी भित्र पनि हाम्रो माग सुनुवाई नभए उक्त अवधीमा शक्ति संचय गरि फेरी नाका केन्द्रित आन्दोलनलाई उचाल्ने निर्णयमा पुगेको पनि ती नेताले बताए । उनका अनुसार अनुसार लामो समयदेखी रोकिएको सरकार र मोर्चाबीचको छलफल सोमबार अचानक हुनु प्राविधिक रुपमा त्यसकै तयारी स्वरुप भएको हो । माघ २२–२३ गतेभित्र कार्यदलस्तरमा सहमति जुटाउने प्रयत्न सफल भए एक हप्ता भित्रै राजधानीमा हुने मोर्चाको बैठकले आन्दोलनको स्वरुपबारे निर्णय लिनेछ ।

वीरगन्जमा रहेका फोरम अध्यक्ष यादवले पनि मोर्चाको आगामि बैठकपछि मात्रै के गर्ने भन्ने ठोस निर्णय बाहिर आउँने बताए
कार्यदलस्तरमा सीमांकनका विषयमा हुने सहमति तोकिएको समयावधी भित्र पुरा नभए शक्ति संचय गरेर एउटा नाका वीरगन्ज मात्रै नभइ सबै नाका ठप्प पार्ने बारे समेत मोर्चा भित्र छलफल भइरहेको छ । त्यसो गर्दा हालै विहार भ्रमणबाट बटुलिएको बिहारी नेताहरुको आश्वासनलाई समेत प्रयोग गर्दै भारतीय जनताको सहयोग पनि सीमा क्षेत्रमा लिन सकिने अनुमान केही नेताले गरेका छन् ।

Comments