मेलबर्न । मेलबर्नमा एक कम्पनीमा कार्यरत नेपाली युवतीमाथि कम्पनीका धनीले चरम शोषण गरिरहेको खुलासा भएको छ । चर्को श्रम शोषण गर्दै आएका ती मालिकले नेपाली युवतीलाई झण्डै २३ हजार डलर तलब नदिएको पाइएको हो ।

अष्ट्रेलियामा विदेशी विद्यार्थीहरुमाथि श्रम शोषण भैरहेको समाचार आइरहँदा फेयर वर्क ओम्वड्म्यान एफडब्लुओ नामक संस्थाले कम्पनीहरुमा गरेको अनुगमनका क्रममा २७ वर्षीया नेपाली युवतीमाथि कम्पनीका मालिकले चर्को श्रम शोषण गरिरहेको तथ्य पत्ता लगाएको हो । ती युवती मेलबर्नस्थित डिएफओ साउथ ह्वार्फ अन्तर्गतको हेल्थ एक्सप्रेसमा कार्यरत छिन् । उनले कम्पनीबाट प्रति घण्टा १२ डलर मात्र पारिश्रमिक पाइरहेकी पाइएको हो । जबकि त्यही कामका लागि अरुले २० डलरसम्म पाउँदै आएको छ ।

ती नेपाली युवतीले एफडब्लुओलाई बताए अनुसार कम्पनीले थोरै तलब दिइरहेको कुरा अनुगमनमा आउँनेहरुलाई बताए अष्ट्रेलियाको भिसा समेत रद्द गरिदिने धम्की कम्पनीका मालिकले दिएका थिए ।
हेल्थ एक्सप्रेसका मालिक जेफ्रे हर्सक्यूले अन्तवार्ताकै क्रममा विदेशी विद्यार्थी भएकोले थोरै मात्र तलब पाउँने शर्त राखेको ती नेपाली युवतीले बताइन् ।

एफडब्लुओले कम्पनीमा गरेको अनुगमनका क्रममा सन् २०१३ को सेप्टेम्वर देखि सन् २०१५ को मार्चसम्ममा ती नेपाली युवतीबाट हेल्थ एक्सप्रेस कम्पनीका मालिकले २३ हजार ५ सय डलर शोषण गरेको दाबी गरेको छ । सोही कम्पनीमा कार्यरत अर्का एक जना भारतीय युवकबाट पनि २७ हजार ३ सय डलर शोषण गरेको खुलेको छ ।

एफडब्लुओको अनुगमनपछि कम्पनीका मालिक हर्सक्यूले आफ्नो गल्तीप्रति क्षमा माग्दै दुवै कामदारबाट शोषण गरिएको झण्डै ५० हजार डलर भुक्तानी गरिदिने सहमति जनाएको छ ।

Comments