काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्र फूटको संकेत देखा परेको छ । अब आन्दोलनको स्वरूप कस्तो बनाउने भन्ने बारेमा मोर्चाभित्र मतभेद देखिएको हो । यही मतभेदका कारण मोर्चाको शुक्रवार बसेको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ।

तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा शुक्रबार अपरान्ह बसेको बैठकमा सीमा क्षेत्रको अवरोधलाई निरन्तरता दिने/नदिने विषयमा तथा आन्दोलनका नयाँ कार्यक्रम ल्याउने/नल्याउने बारेमा विवाद् भएपछि बैठक शनिबारसम्मका लागि स्थगित भएको हो।

विवाद् भएपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बैठकको बीचमै बाहिरिएका थिए। भारतले रक्सौलबाहेकका नाकाहरुबाट सहज रुपमा मालबाहक ट्रक तथा इन्धनका बुलेट र ट्यांकर नेपाल पठाउन थालेपछि मोर्चामाथि सीमा क्षेत्रको धर्ना फिर्ता गर्नुपर्ने दवाब बढेको छ।

मधेशवादी दलहरुको माग अनुसार समानुपातिक/समावेशी प्रतिनिधित्व र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी विधेयक संसदबाट पारित गर्ने क्रममा रहेका कारण भारतले समेत सीमा क्षेत्रको अवरोधलाई साथ नदिने सङ्केत देखाएपछि मोर्चाका नेताहरु आन्दोलनको स्वरुपका विषयमा निर्णयमा पुग्न नसकेका हुन्।

तमलोपाका महामन्त्री गोविन्द चौधरीले संविधान संशोधन विधेयकमाथि संसद् सचिवालयमा दर्ता भएका संशोधन प्रस्ताव अध्ययनका लागि तथा नेताहरुको व्यस्तताका कारण बैठक शनिबारसम्मका लागि स्थगित गरिएको जानकारी दिए।

शनिबार बस्ने भनिएको बैठकको समय तोकिएको छैन। मोर्चाको बिहिबार बसेको साढे चार घण्टा लामो बैठक पनि विवाद्का अनिर्णित भएको थियो।

Comments