काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जीत रेले भारतको अघोषित नाकाबन्दी छिट्टै खुल्ने संकेत गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीलाई उच्चस्तरीय भ्रमणका लागि भारतमा स्वागत गर्न सरकार आतुर रहेको पनि बताएका छन् । यद्यपि, भ्रमणका लागि पर्याप्त तयारी आवश्यक पर्नेमा भने उनको बुझाई छ ।

लैनचौर स्थित भारतीय राजदूतावासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा राजदुत रेले नियमित समयमा बिभिन्न नाकाहरुबाट सोह्र÷सत्र सय ट्रक तथा कन्टेनरहरु नेपालआउने गरेकोमा अहिले एक हजार बढी आइरहेकोले केही दिनमै अव सामान्य बन्ने बताएका छन् । नेपालमा जारी संकट छिटै समाधान हुने बिश्वास ब्यक्त गर्दै उनले दलहरुबीच जारी छलफल र वार्ता पनि केही दिनमै सकारात्मक निष्कर्षमा पुग्नेमा आफू आशावादी भएको बताए ।

राजदुत रेले भारतको नेपालप्रतिको एक मात्र स्वार्थ राजनीतिक स्थिरता, दिगो शान्ति र विकास भएको बताए । दुई देशबीच खुला सिमाना भएकाले एउटालाई समस्या पर्दा अर्कोलाई अप्ठेरो पर्नु स्वाभाविक भएको उनको कथन थियो । केही समय यता देखिएको भारत बिरोधी भावना भारतको मात्र नभइ नेपालको पनि हितमा नभएकाले दुई देशबीचको वार्ता र छलफलबाटै सम्बन्ध सुधार्नुपर्ने उनको भनाई थियो ।

Comments