मेलबर्न । अध्ययन लगायत विभिन्न कामका लागि विदेश पुगेका नेपालीहरु समुद्रमा डुबेर मृत्यु भएका खबरहरु आउँने क्रम रोकिएको छैन । अष्ट्रेलियामा यसैसाता दुई नेपालीको पानीमा डुबेर मृत्यु भएको खबर सेलाउन नपाउँदै न्यूजिल्याण्डमा पनि एक नेपाली विद्यार्थीले समुद्रमा डुबेर ज्यान गुमाएका छन् ।

न्युजिल्याण्डमा आईटी पढ्दै गरेका २२ वर्षीय पवनकुमार खड्काको शव पानीमा तैरिएको अवस्थामा मोटुरिकी टापुको दक्षिणपूर्वी किनारामा भेटिएको हो । स्थानीय एक पैदल यात्रीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव नेपाली विद्यार्थी पवन खड्काको नै भएको पुष्टि गरेको छ भने केही समयपछि उनको गाडी पनि नजिकै पार्क गरिएको अवस्थामा फेला परेको छ । खड्का कसरी समुद्रमा डुब्न पुगे भन्ने विषयमा केही नखुले पनि प्रहरीले साथीभाईसँग सोधपुछका आधारमा अनुसन्धान अघि बढाएको छ । उनी पौडी खेल्दा डुबेका हुन् अथवा अरु केही कारण हो भन्ने विषयमा अनुसन्धान जारी छ ।

प्रहरीले उनलाई पानीमा जाँदै गरेको कसैले पनि नदेखेको जनाएको छ । आफ्नो कोठाबाट राति १ बजे नै कार लिएर निस्किएका उनको मृत्यु कसरी हुन गयो खुल्न नसक्दा न्यूजिल्याण्डमा रहेको नेपाली समूदायका सदस्यहरु अझ बढी अन्योलमा परेका छन् । केहीले खड्काले आत्महत्या गरेको हुनसक्ने आशंका समेत गरेका छन् ।

घटनाबारे नेपालमा रहेका उनका परिवारलाई अवगत गराइसकिएको छ ।

Comments