काठमाडौं । लामो समयदेखि तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध दलले आज बस्ने संसद बैठक अबरोध गर्ने भएका छन् ।

आफ्ना माग पुरा गराउन सडक र सदनबाट दबाब दिने निर्णय गरेको मोर्चाले आज संसद चल्न नदिने निर्णय गरेका हुन् ।  सरकार आफूहरुको मागप्रति संवेदनशील नभएको भन्दै मधेस केन्द्रित दलले लगातार रुपमा संसद बैठक अबरुद्ध पार्दै आएका छन् । सदनको अवरोधपनि माग पुरा गराउने दबाब दिनलाई नै भएको तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बताउँनुभयो । उहाँले प्रमुख तीन दल मधेसको मागप्रति संवेदनशील नभएसम्म सडक र सदनको आन्दोलन जारी रहने बताउँनुभयो ।

सरकार वार्ताको नाममा नाटक मात्र गरिरहेको भन्दै मोर्चाका नेताले मोर्चाले कात्तिक १४ गते बुझाएको ११ बुँदे मागका सम्बन्धमा अहिलेसम्म साझा धारणा बन्न नसक्नु गैरजिम्मेवारपूर्ण भएको जनाएको छ ।

Comments