एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल एशोसिएशन फिफाले बालोन डी’ओर २०१५ का लागि मनोनयनमा परेका खेलाडीबाट तीन खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ ।

फिफा बालोन डी’ओर २०१५ का लागि क्रिष्टियानो रोनाल्डो, लियोन मेस्सी र नेइमारबिच प्रतिस्पर्धा हुने भएको छ ।

सूचीमा गएको वर्षका विजेता रियल मड्रिडका रोनाल्डो, चार पटकका विजेता बार्सिलोनाका मेस्सी र बार्सिलोनाकै नेइमार परेका छन् । विजेताको घोषणा सन् आउँदो जनवरी ११ मा स्वीजरल्याण्डको ज्यरिचमा हुने समारोहमा गरिने छ । विश्व वर्ष खेलाडीलाई फिफाले हरेक वर्ष बालोन डी’ओर प्रदान गर्ने गरेको छ ।

रोनाल्डो तीन तथा मेस्सी चार पटक वर्ष खेलाडी घोषित भइसकेका छन् । यो वर्ष नेइमारले बालोन डी’ओर जितेमा गएको सात वर्षदेखि रहँदै आएको रोनाल्डो–मेस्सीको क्रम भंग हुनेछ ।

बालोन डी’ओरको विजेता मनोनयनमा परेका खेलाडीका टिमका कप्तान तथा मुख्य प्रशिक्षकको मत तथा फ्रेन्च प्रकाशक फ्रान्स फुटबलले छनौट गरेका अन्तर्राष्ट्रिय खेल पत्रकारको मतबाट छनौट गरिने छ । यस्तै महिला वर्ष खेलाडीमा कार्ली लोइड, एया मियामा, सेलिए सासिक अन्तिम मनोनयनमा परेका छन् ।

Comments