न्यूज एराउण्ड द ग्लोब वीथ इन्स्ट्याण्ड अपटेड भन्ने नाराका साथ अष्ट्रेलियाको मेलबर्नबाट प्रकाशन आरम्भ भएको हिमालयन कङ्गारु डट कम दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । त्यसो त अहिले डायस्पोराबाट नेपाली अनलाइन पोर्टल सञ्चालन गर्ने होडबाजी नै चलेको छ । तर तीमध्ये अधिकांश रहर र लहडमा अल्पकालीन भिजन लिई सञ्चालन भएकोले छिट्टै बन्द हुने गरेका छन् । हामीले मेलबर्नबाट हिमालयन कङ्गारु शुरु गर्दा हाम्रा प्रतिस्पर्धी नेपाली अनलाइन पोर्टलहरु थुप्रै थिए । ती मध्ये अधिकांश पोर्टलहरु बन्द भैसकेका छन् । तर हिमालयन कङ्गारु भने निरन्तरताको तेस्रो वर्षगाँठसम्म आइपुग्न सफल भएको छ ।

त्यसो त हामीसँग पनि चुनौतिका चाङहरु प्रशस्तै थिए । हरेक चुनौतिलाई पन्छाउँन व्यवस्थापन र सम्पादकीय टीमबीच सही ट्युनिङको आवश्यकता पर्दछ,यसमा हामी सजग र प्रतिवद्द थियौं । अर्थात कोषौं दुरी पारि मेलबर्न र काठमाडौंमा रहेको दुई सम्पादकीय डेस्कबीच हरेक दिन हुने छलफल र योजना निर्माणले सकरात्मक परिणाम दिएको छ । यसैको परिणाम स्वरुप हिमालयन कङ्गारु आज यहाँसम्म आइपुग्न सफल भएको हो । यसबीचमा मेलबर्नका नेपाली समुदायबीच हिमालयन कङ्गारुले जुन आत्मियता,अपनत्व र विश्वास जित्न सफल भएको छ,यही नै हाम्रो अहिलेसम्मको उपलब्धी हो ।

मेलबर्न मात्र होइन अष्ट्रेलियाका कुनै पनि ठाउँमा हुन लागेको वा भएका कार्यक्रम र गतिविधिबारेको समाचार,सूचना वा जानकारी हिमालयन कङ्गारुको मूख्य प्राथमिकतामा रह्यो र रहिरहनेछ । किनभने यो पनि हिमालयन कङ्गारुले पाएको अपनत्वको मूल कारण हो भन्ने हामीलाई प्रष्ट थाहा छ । यसबीचमा हामीले गर्व गर्नैपर्छ कि हामीले यहाँका स साना इभेन्टहरुदेखि एनआरएनए निर्वाचन र अष्ट्रेलिया सरकारका महत्वपूर्ण नीति तथा कार्यक्रम र घोषणाहरुका बारेमा पनि सन्तुलित समाचार प्रकाशन गर्न सफल भयौं ।

हामी छिटो र धेरै समाचार दिनुपर्छ भन्ने मान्यता विपरित छौं । बरु सटिक र प्रभावपूर्ण समाचारको पक्षधर हौं । राजनीति,गुट,उपगुटबाट हामी सधैं पर छौं । यसैले सिंगो अष्ट्रेलियाली नेपालीहरुको आवाज र भावनालाई मेलबर्नबाट प्रवाहित गर्ने हाम्रो प्रतिवद्दता साँच्चिकै हिमालय जस्तै अटल र कङ्गारु जस्तै तीव्र गतिमा अघि बढ्दैछ ।
तेस्रो वर्ष प्रवेशको अवसरमा हामीले केही नयाँ परिमार्जन र परिवर्तन गरेका छौं । तर हाम्रो परिवर्तन आवरणमा नभई कन्टेन्टमा हुनेछ । अर्थात मेलबर्न र अष्ट्रेलियाली नेपालीहरुबीच अन्तक्र्रियात्मक सम्बन्ध विकासका लागि सहभागीतामूलक केही स्तम्भहरु थपेका छौं । त्यसका बारेमा यहाँहरु आफैंले थाहा पाउँदै जानुहुनेछ ।

अन्त्यमा नयाँ संविधान जारी भएसँगै उत्साहित बन्न थालेको नेपाली जनता अहिले लामो समयदेखि जारी मधेश बन्द र भारतको नाकाबन्दीका कारण अत्यन्त सकसपूर्ण दैनिकी विताउँन बाध्य भएका छन् । त्यो दुख र पीडाको आभाषसँगै राष्ट्रियता र सार्वभौमिकताको चिन्ताले अष्ट्रेलियाली नेपालीहरु पनि दुखित छन् । त्यसैले यसको विरोधमा एनआरएनए अष्ट्रेलियाले विहीवार गर्न लागेको वृहत प्रदर्शनप्रति हिमालयन कङ्गारु पनि नैतिक ऐक्यवद्दता प्रकट गर्दछ ।

अरुण लम्साल
प्रकाशक/निर्देशक

Comments