काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेस आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्न गठित सरकारी टोलीमा सहभागी नहुने भएको छ । प्रधानमन्त्री केपी ओलीसँगको बुधबारको भेटमा कांग्रेस सभापति सुशील कोइरालाले सरकारी वार्ता टोलीमा सहभागी नहुने जानकारी दिएका हुन् ।

सरकारले मोर्चासँग वार्ता गर्न उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा संयोजकत्वको टोली गठन गरेको छ ।

मधेसी मोर्चाका नेताहरूले कांग्रेसबिना संविधान संशोधन हुन नसक्ने बताउँदै प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्व सहभागी हुने गरी छुट्टै  समिति गठन हुनुपर्ने माग गरेका थिए । ओलीसँगको भेटमा कोइरालाले सरकार सञ्चालनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक समन्वय समिति र सरकारी  वार्ता टोलीले बोलाएको बैठकमा सहभागी हुन नसकिने बताएका थिए ।

कोइरालाले मधेसी मोर्चासँग वार्ता गर्न प्रमुख दलका नेताहरू सम्मिलित सर्वदलीय या संसदीय समिति बनाउनुपर्ने प्रस्ताव गरेको स्रोतले बतायो ।

Comments