काठमाडौं । एकीकृत माओवादीले बाबुराम भट्टराई समर्थक नेताहरु माथि कारवाही गर्ने निर्णय गरेको छ । पार्टी नेतृत्वप्रति असन्तुष्टी जनाउँदै चिठी पठाउने नेताहरुलाई एकीकृत माओवादीले कारवाही गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बिहान बसेको स्थायी समिति बैठकले पार्टी छाड्ने संकेत गरेका नेताहरुलाई कारवाही गर्ने निर्णय गरेको हो ।

उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । तर तीमध्ये केहीलाई पहिल्यै स्पष्टीकरण सोधिएको र उनीहरुको जवाफ चित्तबुझ्दो नभएकाले उनीहरुलाई कारवाही थाल्ने उहाँले बताउनुभयो ।

पार्टी स्थायी कमिटी, पोलिटव्युरो, केन्द्रीय समिति र केन्द्रीय सल्लाहकार समितिमा आबद्ध ४५ जना नेताहरुले हिजो पार्टी मुख्यालयमा पुगेर चिठी बुझाएका थिए । स्थायी समिति सदस्य देवेन्द्र पौडेलको नेतृत्वमा बुझाइएको चिठीमा सामुहिक राजिनामा भन्ने उल्लेख नभएपनि पार्टी छाडेको संकेत थियो । बाबुराम भट्टराई निकट नेताहरुले बुझाएको चिठीमा पार्टीले क्रान्तिकारी छवी बदलेर एमालेकै बाटोमा पुगेको आरोप लगाइएको छ ।

अघिल्लो दिन भट्टराई निवास लाजिम्पाटमा बसेको ती नेताहरुको बैठकले नयाँ पार्टी निर्माणका लागि एकीकृत माओवादी परित्याग गर्ने निर्णय गरेको थियो । भट्टराईको नेतृत्वमा नयाँ पार्टी गठन गर्ने तयारी स्वरुप उनीहरुले मंगलबार पार्टीलाई चिठी बुझाएका हुन् । भट्टराईले गएको अशोज ९ गते एमाओवादी छाडेको घोषणा गर्नुभएको थियो ।

को को परे कारवाहीमा ?

मंगलबार पार्टीलाई चिठी पठाउने भट्टराई निकटका ४५ जना नेताहरु नै कारवाहीमा परेका छन् ।

देवेन्द्र पौडेल, रामरिझन यादव, हिसिला यमी, रामचन्द्र झा, नवराज सुवेदी, गंगा नारायण श्रेष्ठ, खिमलाल देवकोटा, रामकुमार शर्मा, नन्दनकुमार दत्त, रमेश रन्जन झा, कल्पना धमला, चिनक कुर्मी, बलावती शर्मा, देवेन्द्र पराजुली, भीमप्रसाद गौतम, साथी स्वनाम, महेन्द्र पासवान, राजेन्द्र कुमार किँराती, भक्तबहादुर शर्मा, रमेश सिग्देल, रामबहादुर बोहरा, सरस्वती चौधरी, अरविन्द साह, रामचन्द्र भट्टराई, कलामुद्दीन राइन, प्रमोद नारायण यादव, कुमार पौडेल, राम मोहन तिवारी, सुशिला सिर्पाली, रञ्जित पटेल, कृष्ण शर्मा, वेदनीधि अधिकारी, कृष्ण शर्मा, विष्णु हरि शर्मा, कमल खनाल, यमुना भुसाल, डा. भरत लामिछाने, राजकिशोर यादव, घनश्याम यादव, बलिराम साह, अम्बिका थापा, कल्पना सुवेदी, महेन्द्र श्रेष्ठ, रामकुमार शर्मा र सरुन काँठा मगरलाई कारवाही गर्ने एमाओवादीले निर्णय गरेको हो ।

Comments