काठमाडौं । सरकारले भारतीय सरकारी निकाय इन्डियन आयल कर्पाेरेसन (आइओसी) लाई दिँदै आएको पेट्रोलियम निर्यात एकाधिकार तोड्दै तेल आयातका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ। भारतले ‘असुरक्षा’ का नाममा नाकाबन्दी लगाउँदा पेट्रोलियम अभाव चर्किएपछि सरकारले वैकल्पिक व्यवस्था गर्न एउटा देशमाथिको निर्भरता तोड्दै तीन दिनभित्र टेन्डर भर्न आह्वान गरेको हो ।

टेण्डर आह्वानमा भनिएको छ–’देशी तथा विदेशी सप्लायर्सहरुले टेण्डर लिन सक्नेछन् ।’ सरकारले कम्तिमा १५ दिनका लागि दैनिक २०० के एल डिजेल, पेट्रोल १०० केएल र हवाई इन्धन र मटिलेल २०० केएल र ग्यास १०० मेट्रिकटनका लागि टेण्डर आहृवान गरेको छ ।

हवाइ मार्ग वा स्थलमार्गबाट काठमाडौंमा इन्धन ल्याउनु पर्ने सरकारी सर्त छ । सरकारले तीन दिनभित्र टेण्डर भर्न आहृवान गरेको छ । भारतले १४ दिनदेखि पेट्रोलियम पदार्थ आपूर्ति ठप्प पारेपछि विकल्प खोज्दै यस्तो कदम चालिएको हो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका उच्च अधिकारीलाई निगममै बोलाएर तत्काल विकल्प अगाडि ल्याउन बुधबार निर्देशन दिएको थियो । सोहीअनुरुप निगमले टेन्डरको सूचना निकालेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई तत्काल पेट्रोलियम पदार्थको विकल्प सोच्ने जिम्मेवारी दिएको थियो। निगमका अनुसार दसैंतिहारमा काठमाडौंबाट बाहिरिने लामो दुरीका यातायातलाई तेल अभाव हुन नदिन यस्तो कदम चालिएको हो ।

Comments