काठमाडौ । सरकार गठन, सीमा समस्या लगायतका विषयमा छलफल गर्न बिहान सर्वदलीय बैठक बोलाइएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्न लागेको हो  । संसदमा प्रतिनिधित्व गर्ने ३१ दलका नेता तथा प्रतिनिधिहरुलाई बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठकका लागि बोलाइएको छ ।

राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि आव्हान गरेकाले सहमति सरकार गठनबारे छलफल गर्न कोइरालाले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री कोइराला तथा प्रमुख दलका नेताहरुले सहमतीय सरकारको आवश्यकता र सान्दर्भिकता बारे स्पष्ट पार्दै सहमतिको राष्ट्रिय सरकार निर्माणमा सहयोगका लागि आग्रह गर्नुहुनेछ ।

सहमतीय सरकार गठनको म्याद असोज २१ गतेसम्म छ । असोज २२ गतेदेखि बहुमतीय आधारमा प्रधानमन्त्री चुन्ने प्रक्रिया प्रारम्भ हुने छ ।

Comments