काठमाडौं । अहिले मुलुकको विशेष गरी तराई मधेशमा जताततै आन्दोलनको आगो बलेको छ । दैनिक जसो आगजनी र ज्यान गएको घट्नाहरु भैरहेको छ । प्रदर्शनकारीको प्रदर्शन जति आक्रमक बन्दै गएको छ,राज्यले सुरक्षा प्रतिकारलाई पनि झनै आक्रमक बनाइदिएको छ । यसले गर्दा अहिले बेमौसममा नै रगतको होली खेल्ने क्रम जारी छ ।

तराई मधेस क्षेत्रमा बन्द भएको झण्डै महिना दिन वित्न लाग्दा आन्दोलनकारीहरु थप आक्रोशित र उत्तेजित हुन थालेका छन् । यहीबीच तराई मधेशमा अहिले राज्यको उपस्थिति न्यून बनाउँने रणनीति अनुरुप सरकारी कर्मचारीहरुलाई खेद्ने अभियान शुरु भएको छ । उनीहरुले सुरक्षाकर्मी र तिनका आफन्तलाई निशाना बनाएर डेरा गरि बस्नेहरुलाई घर खाली गराउन उर्दी समेत जारी गरेका छन् । जस्को कारण प्रहरी र तिनका परिवारले अहिले प्रहरी कार्यालय नजिकको खाली जमिनमा बस्न बाध्य भएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बारामा डेरा गरी बस्ने प्रहरीलाई कोठा खाली गर्न समय नै तोकेर अल्टिमेटम दिएपछि महिला प्रहरीहरुले कोठा छाडी सुरक्षित स्थलमा आश्रय लिन थालेका छन् । २३ जना महिला प्रहरीहरुले लिएको कोठा छाडेर जिल्ला प्रहरी कार्यालय बाराको महिला तथा बालबालिका सेवा केन्द्रको कोठामा विगत एक हप्तादेखि बास बसेका छन् । उनीहरुले डियुटी सिध्याएर आफनो स साना छोरा छोरी सहित महिला सेलमा बास बस्न थालेका हुन् ।

मधेशी मोर्चा बाराले प्रहरी र सेनालाई कोठा भाडामा दिने घरबेटीलाई खाली गराउन २४ घण्टे अल्टिमेटम दिएपछि महिला सुरक्षाकर्मीहरु कोठा छाडी महिला सेलको कोठामा बस्न बाध्य भएका हुन् । घरबेटीहरुलाई प्रहरी र तिनका परिवारलाई  घरबाट निकाल्न उर्दी दिएपछि उनीहरु यसरी बस्न वाध्य भएका हुन् । त्यति मात्र नभई बजारमा किनमेल गर्न जांदा समेत आन्दोलनकारीको कारणले व्यवसायीहरुले समेत तरकारी, पानी समेत नदिएको र घरबेटीहरुको आग्रहमा डेरा छोड्न बाध्य भएको  महिला प्रहरी सिता घिमिरेले बताइन् ।

आन्दोलन चर्कनु अगाडि कोठा भाडा लिएर बस्दै आएपनि अहिले घरबेटीहरुलाई नै धम्की आएपछि बाध्य भएर महिला सेलको आश्रयमा आएर बस्नु परेको महिला प्रहरी ज्ञानु पौडेलले भनाई छ ।

मोर्चाले घरबेटीहरुलाई नै धम्की दिएर डेरा खाली गर्न उर्दी जारी गरेको छ भने खाद्यान्न पानी खरिद गर्न समेत नदिने रणनीति अख्तियारी गरेका छन् । मधेसवादी राजनीतिक दलहरुको यस्तो कदमपछि महिला प्रहरीहरुलाई महिला तथा बालबालिका सेवा केन्द्रमा बसाईएको बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ले बताए ।

मधेसी मोर्चा बाराको भदौ १५ गते बैठकले सरकारले प्रहरी र सेनालाई मधेशी जनतामाथि दमन गरेको भन्दै मोर्चाले बारा जिल्ला भरी र कलैया नगरपालिका भित्रमा डेरा गरी बस्ने प्रहरी र सेनालाई  कोठा खाली गर्न २४ घण्टे अल्टिमेटम दिएपछि उनीहरु डेरा छाडेर सेवा केन्द्रको भवनमा बस्न वाध्य भएका हुन् ।

Comments