ब्राजिल र क्रोएसिया कतार विश्वकपको क्वाटरफाइनलमा प्रवेश, एसियाका दुई देश बाहिरिए

0
191

काठमाडौं। एसियाका दुई देश जापान र दक्षिण कोरिया कतार फिफा विश्वकपको प्रि क्वाटरफाइनलबाटै बाहिरिएका छन्।

सोमवार भएको खेलमा ब्राजिलसँग ४–१ अन्तरले पराजित भएपछि दक्षिण कोरियाको कतार फिफा विश्वकप यात्रा समाप्त भएको हो। सोमबार राति स्टेडियम ९७४ मा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचार्लिसन र लुकास पाक्वेटाले एक एक गाल गरे। कोरियाको लागि सुङ हो पाइकले एक गोल गरे।

अब, सेमिफाइनल प्रवेशकालागि ब्राजिलले क्रोएसियाको सामना गर्नेछ।

सोमवार नै भएको अर्को खेलमा जापानलाई पराजित गर्दै क्रोएसिया कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। क्रोएसियाको जितमा गोलकिपर डोमिचिच लिभाकोभिच नायक बने।

गोलकिपर डोमिचिच लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि सोमबार राति क्रोएसियाले पेनाल्टी सुटआउटमा जापानमाथि ३–१ को जित हासिल गर्यो।

निर्धारित समय तथा थप गरिएको अतिरिक्त समयमा खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ लिभाकोभिच नायक बने । उनले जापानका तीन खेलाडीको पेनाल्टी बचाएका थिए।

क्रोएसियाका लागि निकोला भियासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले गोल गरेका थिए। लिभाकोभिचले जापानको तर्फबाट ताकुमी मिनामिना, काउरो मितोमा र माया योसिदाको पेनाल्टी बचाए। जापानका तर्फबाट ताकुमा असानोले मात्र पेनाल्टी गोल गरेका थिए।

यस अघि अल जुनब रंगशालामा जापानले पहिलो हाफमा डाइजान मेइडाको गोलमा अग्रता बनाएको थियो। इभान पेरिसिचको गोल गरेपनि दोस्रो हाफमा खेल बराबरीमा आएको थियो।