दक्षिण कोरियासँग पराजित हुँदा पोर्चुगललाई नकआउटमा सहज, ब्राजिलसँगको भिडन्त टर्यो

0
213

काठमाडौं। विश्वकप फुटबलमा यस पटक पोर्चुगलका लागि समूह चरण निकै फलिफाप सिद्ध भएको छ।

समूह एचअन्तर्गत शुक्रबार अन्तिम खेलमा दक्षिण कोरियाविरुद्ध खेल्दा पोर्चुगलसँग एउटा लक्ष्य थियो अन्तिम १६ मा ब्राजिलसँगको भिडन्तलाई टार्ने। त्यसैले शुक्रवारको खेलको नतिजा जसरी भए पनि दक्षिण कोरियालाई सुम्पने रणनीति पोर्चुगलसँग थियो।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पनि पोर्चुगल र ब्राजिलबीच खेल भयो भने त्यो दुई महान् टिमबीचको खेल हुने भएकोले नकआउटमा ब्राजिलसँग भेट नहोस् भन्ने चाहेको बताए।

अन्ततः शुक्रवार भएको खेलमा पोर्चुगललाई २–१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको छ।

पोर्चुगलविरुद्ध दक्षिण कोरियाले पुनरागमन गर्दै जित निकालेको हो।

रोमान्चक खेलमा सुरुआती अग्रता पोर्चुगलले बनाएको थियो।

खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए।

तर, खेलको २७ औं मिनेटमा किम योङ जीओनले गोल गर्दै कोरियालाई १(१ गोलको बराबरीमा ल्याएका थिए।

त्यसपछि खेलको इन्जुरी समयमा ह्वाङ हि चानले गोल गर्दै कोरियालाई २–१ को जित दिलाए।

यस जितसँगै कोरिया समूह ुएचु को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

कोरियाले ३ खेलमा ४ अंक जोड्यो।

हारको बाबजुत पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ। पोर्चुगलले ३ खेलमा ६ अंक जोड्यो । योसँगै नकआउट चरणमा बलियो टोली ब्राजिलसँगको भेट पनि पोर्चुगलको टरेको छ। नकआउट चरणमा पोर्चुगल र स्विट्जरल्यान्ड भिड्नेछन् । तर दक्षिण कोरियाका लागि नकआउट चरण भने थप चुनौतिपूर्ण बनेको छ। किनभने क्वार्टरफाइनलमा पुग्न उसले ब्राजिललाई हराउनुपर्ने हुन्छ।