नेपाल फेस्टिवल सिड्नी सफलतापूर्वक सम्पन्न, नेपालमय बन्यो बरउड पार्क

0
366

सिडनी/अष्ट्रेलिया। गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिद्वारा आयोजित नेपाल फेस्टिवल सिड्नी भव्यताका साथ सम्पन्न भएको छ। इतिहासकै सबैभन्दा धेरै मानिसहरु सहभागि रहेको यस कार्यक्रम नेपालमय भएको थियो।

क्विन्सफोर्ड कलेज टाइटल स्पोन्सर रहेको महोत्सवमा कोमर स्ट्रिटबाट परेड सुरु गरिएको थियो। जसमा कुमारीको रथ, शिव पार्वती, कलश यात्रा, पञ्चकन्याका साथै विभिन्न जाति जाति, भाषाभाषीका झाँक्री समावेश भएका थिए। परेडमा बहुसांस्कृतिक समुदायलाई झल्काउने भेषभूषासहित नेपाली मौलिक बाजामा सहभागी थिए।

बरउड पार्कमा भएको फेस्टिवलमा दर्जनौ व्यवासायिक तथा सांस्कृतिक स्टलहरु प्रदर्शनीमा राखिएको थियो। स्टलमा राखिएको एक नेपाली हाउस जसमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि, विभिन्न मूर्तिहरु तथा परम्परागत चूल्हो, नेपाली किचनका सामग्रीहरु लगायत विभिन्न मौलिक विषयबस्तुहरु राखिएको थियो। यस्तो प्रकारको बस्तुहरुले सबै नेपाली तथा अन्य मूलका मानिसहरुको पनि मत जित्न सफल भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सम्बोधन गर्दै एनआरएनएनले आयोजना गरेको नेपाली फेस्टिवलले अष्ट्रेलियामा नेपाली भाषा, कला, संस्कृतिको जग बसाउनको निम्ती महत्वपूर्ण हुने र अष्ट्रेलियन समुदायमा बढ्दै गइरहेको नेपाली जनसंख्यालाई यसप्रकारका सांस्कृतिक पर्वले नेपाली पहिचान र मौलिकताको विकासमा टेवा पुग्ने मात्र नभएर नेपालमा पर्यटन प्रर्वद्धनमा पनि भूमिका खेल्ने बताए। त्यसैगरी कार्यक्रममा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजको तर्फबाट प्रतिनिधि सेली सिटौ, न्यू साउथ वेल्सका सांस्कृतिक मन्त्री मार्क कोर्स, संघीय सांसद एन्ड्रयू ब्राग, कोग्राका एमपी क्रिस मिन्स, स्ट्राथफिल्डका एमपी जेसन येट सन लि, बरउडका मेयर जोन फकर लर्ड, एनआरएनए आईसीसी अध्यक्ष बद्री केसी लगायतका ब्यक्तिहरुको विशेष उपस्थिती रहेको थियो।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य संयोजक एवं नेपाल फेस्टिवल सिड्नी मुल समारोह समिति सयोंजक देव गुरुङले नेपाली विविधता र नेपाली मौलिकपन बोकेको नेपाली मेलाले यहाँ हुर्कदै गरेका दोस्रो पुस्ताका बालबालिकाहरुसामु नेपाली कला संस्कृतिको पहिचान गराउन मद्धत पुग्ने बताए। साथै उनले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रबर्धन र नेपाली कला, संस्कृति, भाषा, रितिरिवाज र सिगों नेपाललाई अष्ट्रेलियामा चिनाउन सकिने बताए।

प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको नेपाल फेस्टिवलमा नेपाली मात्र नभएर अन्य मूलका मानिसहरु समेत गरी ३० हजार भन्दा धेरै मानिसहरु सहभागि रहेको आयोजक टिमले बताएको छ। सांस्कृतिक कार्यक्रमको सञ्चालन मदन कोइरालाले गरेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन सहजीकरण एनआरएनए अष्ट्रेलिया महासचिव डा. राजु अधिकारी, एनआरएनए अष्ट्रेलिया सचिव सन्ध्या शाह, एनआरएनए न्यू साउथ वेल्स सचिव विनोद कुवँर, एनआरएनए एससीसी कोषाध्यक्ष भावना श्रेष्ठ, एनआरएनए एससीसी सदस्य दीपा जोशीले गरेका थिए।
कार्यक्रममा लोक दोहोरी गायक प्रकाश सपूत, गायक दिपक बज्राचार्य र रिदम ब्याण्डका साथमा हास्यकलाकार सन्दिप क्षेत्रीले दमदार प्रस्तुति दिइएको थियो। यसरी फेस्टिवल नै संगीत र नृत्यले तातिएको थियो।