जरिबाना नबुझाउने ३ सय ८५ जनाको नाम समानुपातिक उम्मेदवारको बन्दसूचीबाट हटाउने आयोगको तयारी

0
106

काठमाण्डौ। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनाको नाम हटाउने भएको छ।

पालिका चुनावमा उम्मेदवार भएर हिजोसम्म खर्चको विवरण नबुझाएका उम्मेदवारको नाम आयोगले हटाउन लागेको हो। समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्ले अनुसार दुवै सभाको बन्दसूचीमा नाम भएकामध्ये ४ सय ३९ जनाले समयमै खर्च विवरण नबुझाएको पाइएको थियो। आयोगले उनीहरूलाई हिजोसम्म जरिबाना बुझाउने मौका दिएको थियो। तर, ५४ जनाले मात्रै जरिबाना तिरेका छन्। वाग्लेले हिजोसम्म जरिबाना नतिर्नेको नाम बन्दसूचीबाट हटाइने बताउनुभयो।

दलले बुझाएको बन्दसूचीको क्रमसङ्ख्याको अगाडि नै नाम भएकाले जरिबाना तिरे पनि अन्तिमतिर भएकाले नतिरेको आयोगले जनाएको छ । पालिका चुनावमा उम्मेदवार बनेका व्यक्तिले तोकिएको अवधिभित्र खर्च नबुझाएका कारण गएको भदौ ३१ गते आयोगले १ लाख २३ हजार ६ सय २४ जनालाई जरिबाना गरेको थियो । त्यसमध्ये ४ मंसिरको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ ७१ र समानुपातिकतर्फ ४ सय ३९ जना उम्मेदवार बनेका थिए ।

प्रत्यक्षतर्फको यसअघि नै बुझाइसकेको भए पनि समानुपातिकको जरिबाना तिर्ने समय हिजोसम्म थियो । यो अवधिमा ५४ जनाले मात्रै जरिबाना बुझाएका विवरण आएको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरु वाग्लेले जानकारी दिनुभयो।