‘नेपाल फेस्टिवललाई सफल बनाउन नेपाली समुदाय जसरी सक्रिय रुपमा अगाडी बढिरहनु भएको छ, जुन सह्रानीय छ’

0
348

सिडनी। सन १९९५ मा अष्ट्रेलिया छिर्नुभएका नन्द गुरुङ्ग अष्ट्रेलिया आएदेखि नै सामाजिक कार्यमा संलग्न हुनुहुन्थ्यो। सुरुवाती दिनदेखि नै सामाजिक कार्य गरेतापनि गैरआवासीय नेपाली संघ (एनआरएनए ) संग भने सन २०१५ मा जोडिनु भएको थियो। यसरी बिभिन्न कार्यहरुमा सक्रिय रहनु भएका गुरुङ्ग पेशागत रुपले एक व्यवसायी पनि हुनुहुन्छ।

संस्थाको एनसीसी मेम्बर हुँदै उपाध्यक्षको भूमिकामा रहनुभएका गुरुङ्ग हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष हुनुहुन्छ। आज हामीले उहाँसंग नोभेम्बर १९ मा आयोजना हुँदै गरेको नेपाल फेस्टिवल सिडनीका बारेमा विशेष कुराकानी गरेका छौं।

१ . एनआरएनए अष्ट्रेलियाको अध्यक्ष भइसकेपछि तपाइको लागि आफ्नै राज्यमा आयोजना भएको पहिलो नेपाल फेस्टिवल सिडनी हो। यसलाई कसरी लिनुभएको छ र तपाइको सहभागिता कस्तो रहेको छ ?
मेरो बिचारमा यो फेस्टिवल हुनु भनेको मलाई मात्रै होइन सम्पूर्ण नेपालीहरुलाई गौरवको कुरा हो जस्तो लाग्छ। नेपाल फेस्टिवल सिडनी सन २००६ देखि सुरु भएतापनि त्यो समयमा खासै मेरो खासै संलग्नता थिएन। तर सन २००८ देखि भने मेरो यो फेस्टिवलसंग लगाब धेरै बढेको हो। बिदेशमा बस्ने नेपालीहरुलाई हाम्रो संस्कृति, भेषभूषा, नेपाली खाना, बिबिधतामा एकता र सबै कम्युनिटीहरुलाई एकजुट बनाउनुको साथै नेपालको पहिचान दिने र नेपाली कम्युनिटीहरुको सम्बन्ध प्रगाढ़ बनाउने एउटा उत्सबको रुपमा लिने गर्छु। सबैभन्दा धेरै नेपालीहरुको भेटघाट हुने भनेको नै यस्तै फेस्टिवलमा हो। स्वयम नेपाली भएर आफ्नो देश नेपाललाई बिदेशीहरुसामु चिनाउन पाउने अवसरहरुमा अवश्य पनि मेरो सहभागिता बाक्लो नै रहने गर्छ।

२ . अध्यक्षको नाताले अरु राज्यमा भएको नेपाल फेस्टिवलहरुमा पनि सहभागी जनाइरहनुभएको होला। के-कस्ता अनुभब बटुलेर आउनुभएको छ ?
अहिले एनआरएनए अध्यक्षको नाताले मात्रै होइन, यो भन्दा पहिला म जुन पदमा हुँदा पनि यस्तो फेस्टिवलहरुमा सहभागिता जनाउने गर्दथे। मैले अहिलेसम्म बटुलेको अनुभब भन्नु पर्दा मुख्य गरेर अष्ट्रेलियामा रहेका बिभिन्न नेपाली कम्युनिटीहरुको एक अर्काबिच सम्बन्ध अझ निकट बनाएको देखेको छु। यसका साथै आफु-आफुबिचमा चिन्ने र आफ्ना संस्कृतिहरु साटासाट गर्ने ठूलो मौका मिल्ने गर्छ। मेरो आफ्नै घटना बताउनु पर्दा, म एउटा गुरुङ्ग समाजबाट आएको हुँदा मलाई अरुको संस्कृतिको बारेमा खासै थाहा थिएन, जब अष्ट्रेलिया आए अनि सबैको भाषासंस्कृति थाहा पाए। जब कि म नेपाल हुँदा समेत थाहा पाउन सकेको थिएन। त्यसकारण मेरो अनुभबमा यी फेस्टिवलहरुले सबैमा नेपालीपन छर्नुको साथै आपसमा सद्भाब बढिरहदा अष्ट्रेलियन नेपलीज कम्युनिटीमा सकारात्मक प्रभाब परेको छ, त्यो चाहिँ खुसी लाग्दो कुरा हो।   
३ . नेपाल फेस्टिवल सिडनी २०२२ को माहोल कस्तो लागिरहेको छ? 
फेस्टिवलको समय नजिकिदै गर्दा र प्रेसमिटहरु गर्दैगर्दा माहोल निकै नै उत्साहजनक भइरहेको छ। उत्सबलाई भब्य बनाउन नेपालबाट चर्चित कलाकार लगायत ब्यान्डको पनि निश्चित भइसकेको छ। साथै नेपाल फेस्टिवललाई सफल बनाउनका लागि नेपाली समुदाय जसरी सक्रिय रुपमा अगाडी बढिरहनु भएको छ, जुन सह्रानीय छ। सबैले आफ्नो तर्फबाट अथवा आयोजक टिमका तर्फबाट सबैसंग हातेमालो गर्दै जिम्मेवारी निर्वाह गरिरहनुभएको छ।

 ४ . नेपाल फेस्टिवल सिडनी २०२२ बाट कस्तो अपेक्षा राख्नु भएको छ ?
हामीले जहिले पनि “Better Than Bigger ” भन्ने गरेका छौं। पहिलाको भन्दा अहिलेको फेस्टिवलमा म लगायत मजस्तै समुदायका सबै व्यक्तिहरु धेरै नै उत्साहित देखिरहेको छु। अर्को कुरा यहाँको नेपाली कम्युनिटी जस्ता धेरै सहयोगी हातहरुबाट जति सहयोग पाइरहेको छौं, त्यो हिसाबले हेर्दा अझै बलियो हुँदै गइरहेको छ जस्तो लाग्छ। कोभिडको कारण चार वर्ष पछि आयोजना हुँदै गरेको यो फेस्टिवल हामी सबैले यस वर्ष अझ भव्य हुने अपेक्षा गरेका छौं।

६ . नेपाल फेस्टिवल सिडनीको अबिस्मरणीय क्षण ?
हाम्रो लागि नेपाल फेस्टिवल भने पछि सबै नै सम्झन लायक हुन्छ। चर्चित कलाकारहरुले प्रस्तुति दिँदै गर्दा नेपालीहरुको भीड़भाड़को साथमा रमाइलो गरेको एकदमै ठूलो सम्झना छ।

७ . सुरुवाती नेपाल फेस्टिवल र पछिल्ला नेपाल फेस्टिवलमा कस्तो भिन्नता पाउनुभएको छ?
सुरुवाती र अहिलेलाई हेर्ने हो भने कतीको भिन्नता छ भनेर सजिलै महसुस गर्न सक्छौं। पहिलेको फेस्टिवलमा भएको कमीकमजोरीलाई अहिले सुधार गर्ने मौका मिल्छ। साथै सुरुवाती पाइलामा नेपाली समुदाय सानो भएकै कारण आर्थिक स्रोत बलियो थिएन। तर अहिले धेरै फेरिएको छ। नेपलीज समुदायहरुले आफुलाई स्थापित गर्न सफल भइसकेको छ र जनसंख्याको हिसाबमा पनि नेपाली समुदाय निकै ठूलो भइसकेको छ। त्यसकारण नेपाली समुदायदेखि लिएर आयोजक टिमका साथै सहयोगी हातहरुको पनि योगदान उल्लेख्य रहेको हुँदा फेटिवल भव्य हुने अनुमान पनि गरिएको छ।

८ . नेपाल फेस्टिवललाई अझ भब्य र राम्रो बनाउन के गर्नुपर्ला ?
जसले नेपाललाई माया गर्छन, नेपालप्रति सकारात्मक सद्भाब राख्छन् ,उहाँहरुको सहयोग, सहभागिता लिएर अझ भब्य बनाउन सकिन्छ। यसका साथै कामको ब्यबस्थापनमा अघिल्ला दिनहरुमा भएका कमजोरीलाई सुधार्दै कार्यक्रम सफल बनाउन सकिन्छ जस्तो लाग्छ। त्यसैगरी नयाँ पुस्तालाई नेपाल फेस्टिवलको महत्त्वको महसुस गराउन र नेपालीपनको पहिचान गराउन आयोजक टिममै राखेर कार्य गर्न लगाउने गर्नुपर्दछ, जसले गर्दा उनीहरुहरुलाई भबिष्यमा बुझ्न सहज हुन्छ।

९ . अन्त्यमा केहि भन्न चाहनुहुन्छ कि ?
नेपाल फेस्टिवल हामी सबैको फेस्टिवल हो, त्यसकारण सम्पूर्ण नेपालीमनहरु सहभागी भएर सधैँको वर्ष झैँ यस वर्ष पनि नेपाल फेष्टिभल भव्य रुपमा सफल पारौं भन्न चाहन्छु। साथै नोभेम्बर १९ मा बुरवूड पार्कमा आइदिनुहुन सबैलाई विनम्र अनुरोध गर्दछु।