नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

0
93

काठमाडौं। नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ।

चन्द्रघण्टा देवीको शिरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो। असत्यको नाश र सत्यको रक्षाको लागि देवीले चन्द्रघण्टाको रुप धारण गरेको श्रीमद् देवीभागवत पुराणमा उल्लेख छ। शारीरिक तथा मानसिक कष्टबाट छुट्कारा पाउन चन्द्रघण्टा देवीलाई पूजिन्छ।

चन्द्रघण्टा देवीको आराधना गरे शारीरिक र मानसिक कष्टबाट छुटकारा पाउने मान्यता रहिआएको छ। नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटाैँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ।