मंगलवारबाट निर्वाचन आचारसंहिता लागू, उम्मेदवारको खर्च सीमा बढाउने तयारी

0
91

काठमाडौं। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजैबाट निर्वाचन आचारसंहिता लगाउने तयारी गरेको छ।

निर्वाचन आयोगले औपचारिक निर्णय नगरे पनि आजैबाट निर्वाचन आचारसंहिता लगाउने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो।

निर्वाचन खर्चसीमाबारे दलहरूको छलफलमा आचारसंहिताबारे पनि निर्णय गर्ने स्रोतले बताएको छ। राजनीतिक दलहरुलाई खर्च सीमाबारे छलफल गर्न आयोगले आज बोलाएको छ। प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई खर्च सीमाबारे छलफल गर्न आयोगले आज बोलाएको हो।

आयोगले वैज्ञानिक रुपमा खर्च सीमा बढाउने तयारी गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ ०७४ को भन्दा प्रतिउमेदवार सात लाख रुपैयाँसम्म खर्च बढाउने प्रस्ताव गरिएको छ। त्यो निर्वाचनमा प्रतिनिधि सभातर्फ २५ लाखको खर्च सीमा निर्धारण गरिएको थियो। योपटक ३३ लाख पुर्याउने आयोगको तयारी छ।

आयोगको प्रस्तावानुसार १६५ मध्ये योपटक पाँच निर्वाचन क्षेत्रमा २५ लाखसम्मको खर्च सीमा निर्धारण गरिनेछ ।

यस्तै, २३ निर्वाचन क्षेत्रमा २७ लाख, ६६ निर्वाचन क्षेत्रमा २९ लाख खर्च सीमा हुने प्रस्ताव छ। ४४ निर्वाचन क्षेत्रमा ३१ लाख र २७ निर्वाचन क्षेत्रमा ३३ लाख खर्च सीमा तोक्ने आयोगको तयारी छ।

सोअनुसार प्रतिनिधि सभातर्फ उमेदवारको प्रचारप्रसारमा ४९ करोड १५ लाख रुपैयाँ खर्च हुने आयोगको अनुमान छ।

प्रदेश सभातर्फ पनि खर्च सीमा बढाउने तयारी छ। प्रदेश सभाका ३३० मध्ये ५५ निर्वाचन क्षेत्रमा १५ लाख, १५२ निर्वाचन क्षेत्रमा १७ लाख खर्च सीमा तोक्ने आयोगको प्रस्ताव छ । ६४ निर्वाचन क्षेत्रमा १९ लाख, ३१ निर्वाचन क्षेत्रमा २१ लाख खर्च सीमा तोक्ने आयोगको तयारी छ।

प्रदेशसभाका २८ निर्वाचन क्षेत्रमा २३ लाख खर्च सीमा निर्धारण गर्ने आयोगको प्रस्ताव छ। यसो गर्दा प्रदेश सभाका उमेदवारहरूले गर्ने कुल खर्च ५९ करोड २० लाख रुपैयाँ हुन्छ।

आयोगको प्रस्तावानुसार प्रतिनिधि सभातर्फ ४९ करोड १५ लाख र प्रदेश सभातर्फ ५९ करोड २० लाख गरी उमेदवारको कुल एक अर्ब आठ करोड ३५ लाख रुपैयाँ प्रचारप्रसारमा खर्च हुने देखिन्छ । यसरी हेर्दा प्रतिनिधि सभातर्फ भन्दा प्रदेश सभातर्फ १० करोड पाँच लाख रुपैयाँ बढी खर्च हुने देखिन्छ।