परदेशमा माइतीको झल्को मेटाउदै, शेपार्टनका दाजुभाइले नेपाली दिदीबहिनी बोलाएर मनाए सामूहिक तीज कार्यक्रम

0
188

शेपार्टन। अष्ट्रेलियामा नेपाली संस्कृतिको सम्बर्द्धन गर्ने उद्देश्यले नेपाली चाडपर्वहरु भब्यताका साथ मनाउने गरिन्छ। यसैक्रममा अष्ट्रेलियाको शेपार्टनवासी दाजुभाइले नेपाली दिदीबहिनी बोलाएर सामूहिक रुपमा तीज कार्यक्रम सम्पन्न गरेका छन्। शेपार्टन क्षेत्र वरपर बसोबास गर्ने सबै दिदी बहिनीहरूलाई आमन्त्रित गरी उनीहरूलाई एक अर्कासँग जोड्ने अवसर प्रदान गर्ने तरिकाले कार्यक्रमको आयोजना गरिएको हो।

हरितालिका तीजले छुट्टै मौलिकपन बोकेको हुँदा नेपालमा तीज पर्वमा दाजुभाइले दिदीबहिनीलाई निमन्त्रणा गर्ने प्रचलन अनुसार, शेपार्टनमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीलाई तीजको निम्तो गरिएको थियो। यस्तो कार्यक्रम शेपार्टन क्षेत्रमा पहिलो पटक भएको र सफलतापूर्वक सम्पन्न गर्न सक्षम रहेकोमा आयोजक दाजुभाइहरुले खुसी ब्यक्त गरेका थिए। नि:शुल्क प्रवेश गरेको तीज बिशेष कार्यक्रम लगभग ७० भन्दा बढी ब्यक्तिहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा दिदीबहिनीहरुका लागि दरको व्यवस्थासंगै तीजको सांगीतिक माहोल निर्माण गरिएको थियो। साथमा नेपाली स्वाद अनुसार नेपाली शेफले पकाएको खानाको पनि ब्यबस्था रहेको थियो। कार्यक्रमलाई उत्कृष्ट संगीतले सुन्दर ढंगले सजाइएको थियो, जहाँ सबैले नाच्दै र आफ्नो मनपर्ने पोशाक देखाउँदै राम्रो समय बिताएका थिए। बालबालिका, महिला र पुरुषहरूका लागि छुट्टाछुट्टै किसिमको खेलहरु खेलाइएको थियो जसमा विजेताहरुलाई पुरस्कारको ब्यबस्था गरिएको थियो।

कार्यक्रममा ३० वर्षभन्दा बढी समयदेखि यहाँ बसोबास गर्दै आएका र शेपार्टनमा नयाँ आगमनहरू सहित धेरै मानिसहरू उपस्थिति थियो। कार्यक्रममा उपस्थित सम्पूर्णले कार्यक्रमले सम्बन्ध विस्तार, संस्कृतिको सम्बर्द्धन र सामुदायिक एकताको अवसर सिर्जना गरेको उल्लेख गर्दै आयोजक दाजुभाइप्रति आभार व्यक्त गरेका थिए।

नेपालदेखि टाढा रहेतापनि परदेशमा दाजुभाइहरुको निमन्त्रणामा तीज मनाउन पाउँदा प्रफुल्लित देखिएका दिदिबहिनीहरुले एक-आपसमा दु:ख, सुख साट्दै, नाचगान गर्दै खुसी व्यक्त गरिरहेका थिए। दिदीबहिनीको यस्तो खुसीसँगै कार्यक्रम सफल भएकोमा खुसी व्यक्ति गर्दै उनीहरुले आगामी दिनमा अझ बृहत, व्यवस्थित र नयाँ अवधारणा सहितका कार्यक्रम आयोजना गर्न हौसला मिलेको बताएका छन्।

कार्यक्रमको मुख्य आयोजकको रुपमा लेखनाथ अर्याल, विशाल कुँवर, अमृत कँडेल, भेस बराल, भीम लामा र सुमन थापा थिए।