काठमडौंको फोहर व्यवस्थापनको समस्या शुक्रबारदेखि पूर्ण रुपमा हट्यो

0
65

काठमाडौं। काठमडौंको फोहर विसर्जनमा २ महिनादेखि हुँदै आएको अवरोध शुक्रबारदेखि पूर्ण रुपमा हटेको छ। शुक्रवार विहानैदेखि काठमाडौंबाट फोहर बोकेर गाडीहरू नुवाकोटको बञ्चरेडाँडा गईरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

बिहीबार काठमाण्डौ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भए पछि काठमाण्डौबाट फोहर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन्। बञ्चरेडाँडामा फोहरका गाडी नियमित जान थाले पनि काठमाण्डौ उपत्यकामा थुप्रिएको फोहर उठाउन केही समय लाग्ने महानगरपालिकाले जनाएको छ।

महानगरले शुक्रवारदेखि दैनिक ३ सय गाडीबाट फोहर विसर्जनको तयारी गरेको छ। ल्यान्टफिल्ड साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का बासिन्दाले पनि शुक्रबार फोहर बोकेका गाडीलाई रोकेका छैनन्।

महानगरपालिकाले एक हप्ताभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले यो अवधिसम्म कुनै अवरोध नगर्ने वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो । सहमति अनुसार ल्याण्डफिल्ड साइटमा विरोध प्रदर्शनका क्रममा घाइते भएकाको उपचार खर्च महानगरले बेहोर्ने छ। पक्राउ परेका एक जनाको रिहाइ पनि गर्ने सहमति भएको छ।

यस्तै, फोहर बोकेर जाने गाडीले बाटोमा लिचेड नचुहाउने रबञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि पनि छर्किने सहमतिमा उल्लेख छ।