“आमाबुवाको काखमा बसे जस्तो सजिलो छैन : अष्ट्रेलिया”

0
179

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएको भुवन श्रेष्ठसंग कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो नेपालको घर स्याङ्जा हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको १४ वर्ष भयो।

तपाईलाई PR apply गर्न कत्तिको सहज भएको थियो ?
मलाई PR apply गर्न सहज भएको थिएन। धेरै गाह्रो भएको थियो।

अहिले के गर्दै हुनुहुन्छ ?
अहिले मैले काम गर्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
नेपालबाट म +२ लेभलको पढाई सकेर अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
सबैभन्दा पहिला आफ्नो प्रतिभा भर पर्छ। अष्ट्रेलियाको पढाईले मात्र नभई अन्य देशको पढाईले पनि आफ्नो राम्रो भविष्य बनाउन सकिन्छ। अष्ट्रेलियाको पढाई भनेर मात्र पनि हुँदैन, पढाईलाई कसरि अघि लैजाने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ। अष्ट्रेलियामा पढ्न आइसकेपछि पढाईलाई मात्र निरन्तरता दिएर पढ्न सक्यो भने धेरै राम्रो भविष्य बन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
सबै कुरामा देखेको र सुनेकोमा त फरक भेटिन्छ। नेपालमा हुँदा अरुले बनाएको फोटो र भिडियोमा केहि दु:ख देखिदैन तर अष्ट्रेलिया आइसकेपछि सबै दु:ख कष्ट भोग्नुपर्छ। यहाँ आएपछि सबै शुन्य लेभलबाट अघि बढ्नु पर्छ। आफु आएको १/२ वर्षसम्म धेरै गाह्रो हुन्छ, पछि पछि आफुलाई बानि पर्दै गएपछि सबै ठिक हुन्छ। नेपालबाट अष्ट्रेलिया आउनु भनेको गाउँबाट काठमाडौँ आए जस्तै हो। नेपालबाट देखेको अष्ट्रेलिया र अष्ट्रेलिया आएपछि देखेको अष्ट्रेलियामा धेरै फरक अनुभव पाएको छु।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
अरुको देशमा न कतै चिनेको न कतै जानेको अन्जान ठाउँमा आउँदा त धेरै गाह्रो हुन्छ नि ! मलाई पनि सुरुमा धेरै गाह्रो भएको थियो। मैले अष्ट्रेलिया आएपछि फर्मिंगबाट काम सुरु गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
अष्ट्रेलियाको बसाईले मलाई दु:ख गर्न सिकाएको छ। दु:ख भनेको के हो भने कुरा बुज्न पाएको छु। आफ्नो जीवन बनाउन सजिलो छैन भन्ने कुरा अनुभव गरेको छु। आमाबुवाको काखमा बसे जस्तो सजिलो छैन अरुको देशमा बसेर पैसा कमाउन भन्ने कुरा धेरै सिकेको छु। यहाँको राम्रो भनेको सबैलाई सबैजनाले सम्मान गर्नु हुन्छ। आफ्नो दु:ख अनुसारको मूल्य पनि हुन्छ। अष्ट्रेलिया बारे नराम्रो भन्नलाई खासै केहि छैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलियाको नेपाली समुदाय ठिकै लाग्छ। म आफुमा धेरै व्यस्त भएका कारण पनि धेरै सहभागी त हुँदैन। समुदायका लिडरहरुले आफ्नो देशका नयाँ बिद्यार्थीहरुलाई त्यहाँको बारे जनचेतना दिनुहोला भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
अष्ट्रेलिया आएको सुरुसुरुमा त एकदम धेरै सम्झना आउँछ। नयाँ ठाउँमा कोहि चिनेको साथी हुँदैन त्यो बेलामा आफु एक्लो भएको महशुस हुन्छ। अरुको देशमा हुँदा घरमा आमाबुवालाई सताएको जस्तो नहुने रहेछ। कामबाट थाकेर आएको बेलामा होस् या बिरामी भएको बेलामा जुन सुकै समयमा पनि परिवारको धेरै सम्झना आउँछ। पछिपछि काममा पढाईमा व्यस्त भएका कारण सम्झेर बस्ने पनि खासै समय हुँदैन। अहिले इन्टरनेटको सुबिधा हुँदा फोनमा भएपनि बोल्न पाउँदा धेरै आधार हुन्छ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
आफु एकदम बलियो भएर मात्र आउनुहोला। अष्ट्रेलिया भनेको कुनै सजिलो देश होइन। म जुन काम परेपनि पछि नहटि काम गर्छु भन्ने एउटा आट राख्नुहोला। यहाँ आएर आफ्नो अनुसाशनमा रहेर काम गर्न सक्नुपर्छ। आफ्नो दु:ख सुखलाई आफै नै ह्यान्डल गर्नुपर्छ। अष्ट्रेलिया आउने बितिकै गाह्रो भयो भनेर हार नमान्नुहोला। सुरुसुरुमा आफुलाई धेरै गाह्रो हुन्छ तर पछि बिस्तारै बानी पर्दै गएपछि सबै ठिक हुँदै जान्छ। उहाँहरुको अभिभावकले बुझ्नु पर्ने भनेको छोराछोरी अष्ट्रेलिया जानी बितिकै पैसा पठाउँछ अनि यो गर्छु त्यो गर्छु भन्ने कहिल्यै पनि नसोच्नुहोला। उनीहरुको पढाई समयसम्म पैसा पैसा भनेर केहि दबाब नदिनुहोला। पढ्नी समयमा राम्रो संग पढ्न दिनुहोला। पढाई सकेर कमाउने बेलामा उसले आफै हजुरहरुले नभनेपनि पैसा पठाउँछ भन्न चाहन्छु।