अष्ट्रेलियाका ७ सहरमा ‘धमाका २०७९’ , नेपाली कलाकारको बेजोड प्रस्तुति

0
460

अष्ट्रेलिया। केबीसी अष्ट्रेलियाले आगामी जुलाई २२ देखि अगष्टको ७ तारिखसम्म अष्ट्रेलियाका विभिन्न ७ सहरहरूमा धमाका २०७९ को आयोजना गर्ने भएको छ। उक्त कार्यक्रमका मुख्य आकर्षक कलाकारको उपस्थितिमा काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराइएको हो।

‘धमाका २०७९’ नाम दिइएको उक्त सांगीतिक कार्यक्रम अष्ट्रेलियाको पर्थ, तास्मानियाको लन्चेष्टन, मेलबर्न, ब्रिसबेन, सिड्नी, राजधानी क्यानबेरा र एडिलेडमा आयोजना गरिने आयोजकले जानकारी दिएको छ। तीजको पूर्वसन्ध्यामा परेकाले यस सांगीतिक कार्यक्रमलाई केही सहरहरूमा तीज धमाका २०७९ को रूपमा पनि सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रमलाई केबीसी अष्ट्रेलियाले स्थानीय नेपाली सामुदायिक संघ-संस्था र ईभेन्ट अर्गनाईजरहरुसँगको सहकार्यमा आयोजना गर्न लागेको.हो। नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक पशुपति शर्मा, चर्चित गायिका रचना रिमाल, हाँस्यव्यंग्य कलाकारद्वय सुवोध गौतम (एकदुमे) र दिपक आचार्य (काकु)ले कार्यक्रममा आफ्ना प्रस्तुति दिनेछन्।

धमाका २०७९ नाम दिइएको उक्त सांगीतिक भ्रमणलाई ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज र ब्लूबेरी रियलस्टेटले प्रायोजन गरेका छन्। साथै स्थानीय सहरहरूमा अन्य नेपालीहरुले संचालन गरेका विभिन्न व्यवसायीहरले यो अभियानमा सहकार्य गर्ने आयोजकले जनाएको छ। कार्यक्रमको मुख्य प्रायोजक ग्रेस ईन्टरनेशनलले गरेको छ।

केबीसीअष्ट्रेलियाले आफ्नो सामुदायिक दायित्व बहन गर्दै यस पटकको यो कन्सर्टमध्ये ब्रिसबेनको कन्सर्टबाट प्राप्त हुने सबै रकमलाई त्यहाँ नेपाली समुदायले बनाउन लागेको बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ। ब्रिसबेनको कार्यक्रम मुख्यतः यही सांस्कृतिक केन्द्र बनाउने अभियानको फन्डरेजिंगका रूपमा मनोरञ्जनात्मक कार्यक्रमकाबीच सञ्चालन गरिने आयोजकले जनाएको छ।