ब्रिजवेनमा नेपलिज अष्ट्रेलियन टेनिस क्लबद्वारा आयोजित टेनिस च्याम्पियनसिप सम्पन्न

0
242
टेनिस च्याम्पियनसिप

ब्रिजवेन। अष्ट्रेलियाव्यापी एनएटिसी टेनिस च्याम्पियनसिप सम्पन्न भएको छ। नेपाली टेनिस खेलाडीबिच सामाजिक सम्बन्ध विकासको साथै शारिरीक स्वास्थ्य कायम राख्न तथा नयाँ पुस्तालाई खेलमा आकर्षित गर्ने हिसाबले आयोजित प्रतियोगिता पुरस्कार वितरण कार्यक्रमसंगै सम्पन्न भएको हो।

प्रतियोगितामा ग्रेड एको म्यान्स सिंगलतर्फको खेलको उपाधी सिड्नीका १४ वर्षिय जेड आलेमगरले चुमेका हुन्। उनले फाइनलमा ब्रिजवेनका १७ वर्षिय विश्वप विष्टलाई पछाडी पार्दै आफ्नो जित हासिल गर्न सफल भएका हुन्। ग्रेड ‘ए’ कै म्यान्स डबल तर्फको उपाधी ब्रिजवेनका अनुप गुरुङ र विश्वप विष्टले उचालेका छन् भने ब्रिजवेनकै म्याक विष्ट र सुनिल केसीको जोडीले दोस्रोमै चित्त बुझाएका छन्।

ग्रेड ‘बि’ को म्यान्स् सिंगल, म्यान्स डबल र ४५ वर्ष माथिका सिनियर तर्फको म्यान्स सिंगल र डबल दुबैको उपाधी भिक्टोरियाको पोल्टामा परेको छ। जसमा सिंगल विधातर्फ मेलबर्नका रितेश बास्तोलाले बाजी मार्दा ब्रिजवेनका सुरेश सिलवाल दोस्रो स्थानमा रोकिएका हुन्। त्यस्तै म्यान्स डबल बिधामा रितेश र शंकर अर्यालको जोडी अब्बल बनेको छ भने भिक्टोरियाकै केशव खत्री र नगेन्द्र बोहोराको जोडीले दोस्रो स्थान हासिल गरेका छन्। सिनियर ४५ वर्ष माथीको बिधाको म्यान्स सिंगल विधामा भिक्टोरियाको राजेन्द्र कार्की पहिलो र टप आले दोस्रो हुन सफल भएका छन् भने र डबल तर्फ भिक्टोरियाकै राजेन्द्र र टपको जोडीले बाजी मारेका छन्। सिड्नीका विष्णु हमाल र गंगा आले मगरको जोडी भने दोस्रो स्थानमै रोकिएको छ।

ग्रेड सि तर्फको सिनियर म्यान्स सिंगलको विधामा ब्रिजवेनका अभिनास श्रेष्ठललाई दोस्रो स्थानमा कायम राख्दै मेलवर्नका ओम प्रसाद पौडेलले आफ्नो पोल्टामा जित हासिल गरेका छन्। त्यस्तै सोही बिधाको म्यान्स डबलतर्फ ब्रिजवेनका अभिनास र सुरेश खड्काको जोडी च्याम्पियन बनेका छन् भने भिक्टोरियाका विष्णु पैयानी र रेशम अधिकारी रनरअप बन्न सफल भएका छन्। जुनियर तर्फको खेलमा भने सबै खेलाडी कुइन्सल्याण्डकै थिए। बिजेता खेलाडीले नगद र रनिङ शिल्ड प्राप्त गरेका छन्। लगातार ३ वर्षसम्म एउटै खेलाडीले उपाधी जितेमा रनिङ शिल्ड सँधैका लागि राख्न पाउने समेत आयोजकले जनाएको छ।

खेल मार्फत समुदायको एकता तथा समृद्धिमा सहयोग पुग्ने हुँदा नेपलिज अष्ट्रेलियन टेनिस क्लबले हरेक वर्ष राष्ट्रव्यापी प्रतियोगिताको आयोजना गरेको आयोजक क्लबका अध्यक्ष म्याक बिष्टले बताउनु भयो। त्यसैगरी उहाँले अबको ५ वर्ष भित्रमा जुनियर टिमलाई अन्तराष्ट्रिय स्तरमा टेनिस खेल्नका लागि योग्य बनाउने कुराको पनि जानकरी गराउनुभयो।