एनआरएनए संस्थासङ्ग आबद्ध रहेर समाजसेवा गर्दै : दिपक शर्मा

0
141

समाजसेवा यस्त‍ो शब्द हो जसले समाजमा हुने हरेक प्रकारका समस्यालाई परिवार दिने माया, ममता र सद्भाव जस्तै गरि एक स्वच्छ भावनाले गरिने सहयोग र योगदान मानिन्छ तर पछिल्लो समय केही फरक हुँदै गएको छ समाजसेवा को परिभाषा।
नेपालीहरू विश्वका जुनसुकै देशमा पुगेपनि नेपालीले नेपालीलाई हेर्ने दृष्टिकोण फरक छ, नेपालमा अहिले हुनेखानेले हो समाजसेवा गर्ने भनेर पनि परिभाषित गरेको पाईन्छ तर यहाँ हुनेखाने मात्र हैन कि हुदा खानेहरूले पनि समाजसेवा गर्न सक्छन् भन्ने बुझ्न जरुरी छ। रुपिया पैसा बाड्नु मात्र समाज सेवा हैन, दुखमा परेका व्यक्ति वा कुनै संघसंस्थालाई भौतिक तथा नैतिक सहयोग गर्नु पनि समाजसेवा हो। आज हामिले एनआरएनए संस्थासंग आबद्ध रहेर समाजसेवा गर्दै आउनुभएका दिपक शर्मासंग कुराकानी गरेका छौं। कुराकानीकाे सम्पादित अंश :

यो संस्थासंग आबद्ध हुनुभएको कति वर्ष भयो ?
म एनआरएनए संस्थासंग आबद्ध भएको १४ वर्ष भयो। म यस संस्थासंग मात्रै होइन यहाँ भएको सम्पूर्ण नेपाली समुदायसंग पनि आबद्ध भएर काम गर्दै आएको छु। अष्ट्रेलियामा रहेर पनि नेपाली भाषा, संस्कृति र नेपालको पर्यटनहरुलाई प्रबर्द्धन र संरक्षण गर्नको लागि सामाजिक कार्यहरु गर्दै आएको छु।

कुन पदमा रहेर कार्य गरिराख्नु भएको छ ?
म सुरुको दिनदेखि संस्थापक सदस्य हुँदै सहायक संयोजक, पश्चिम अष्ट्रेलियाको संयोजक र अष्ट्रेलियाको उपाध्यक्षमा रहेर कार्य गर्दै आएको थिए। त्यस्तै २०१९/२०२१ मा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यको रूपमा रहेर गरेको थिए भने हाल अर्थात् २०२१/२०२३ कार्यकाल म अन्तर्राष्ट्रिय समन्वय पारिषदको सह कोषाध्यक्षमा कार्यरत छु।

यो संस्थासंग आबद्ध हुनुको मुख्य उद्देश्य के छ ?
सबैभन्दा पहिला त नेपाल छोडेर प्रवासमा आइसकेपछि आफ्नो देशको माया हुने गर्छ। यहाँ आइसकेपछि पनि आफ्नो देशको भाषा, रहनसहन,संस्कृतिको साथै नेपाल एक देशलाई चिनाउन पनि सकेसम्म नेपाली समुदायहरुमा उपस्थिति जनाएर नेपालीहरु यस्तो छ भनेर पर्यटकहरुलाई प्रबर्द्धन गर्ने हिसाबले पनि म यो संस्थासंग आबद्ध हुन् पुगेको हो। विदेशमा सिकेको ज्ञान र सिपहरुलाई नेपालमा केहि हदसम्म भएपनि प्रयोग गर्न सकिन्छ र यहाँ केहि लगानीहरु छ भने पनि पछि नेपालमा गएर पनि लगानी गर्न सकिन्छ, त्यसकारण यी सबै कुराहरुलाई मध्येनजर राख्दै सुरुदेखि सामाजिक कार्य र संस्थामा लागेको हु।

अहिलेसम्म के-कस्ता कार्यहरु गर्दै आउनुभएको छ ?
यहाँ सबै भन्दा ठुलो नेपाल फेष्टिभल गर्यौं जसले नेपालका पर्यटन प्रबर्द्धन गर्नको लागि धेरै सहयोग पुर्याउने गर्छ। यहाँको नेपाली लगायत अष्ट्रेलियन र विदेशीहरु लगभग २०-३० हजार एकठाउँमा जम्मा भएर गरिने गर्छौं। यसमा नेपाली मौलिकपन र संस्कृति झल्किने किसिमको कार्यहरु प्रदर्शन गर्ने र खेलकुद कार्यक्रमहरु गर्दै आएका छौं। त्यस्तै हामीले लाप्राकमा भुकुम्प पीडितका लागि बस्ती निर्माण हस्तान्तरण समेत गरि सकेका छौँ। साथै नेपालमा भुकम्प जाँदा हामीले फन्डहरुलाई संकलन गरेर पठाउने पनि गरियो। कोभिडको समयमा हजारौं विदेशमा अलपत्र परेका नेपालीलाई नेपाल पठाउन सफल भयौं, हजारौंको संख्यामा अक्सिजन लगायतका मेडिकल सामान पठाउन सफल भयौं, नेपालका ७ वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्न सफल भयौं। नेपालमा सरकारसङ्ग मिलेर १० अर्बको अक्षयको स्थापना गर्न सफल भएका छौं। अनि यहाँ शंखमुलको पार्क बनेको छ त्यो पनि हाम्रै कार्यकालमा बनेको हो। यस्तै विभिन्न कार्यहरुमा म प्रत्यक्ष रुपमा सहभागी भएर कार्यस्थल मै रहेर सामाजिक गर्दै आएका छौं।

अष्ट्रेलियामा रहने नेपालीहरुलाई यस संस्थाले कति सम्म सहयोग पुर्याएको छ ?
वास्तवमा भन्नुपर्दा यहाँ हरेक राज्यहरुमा साना-साना सामाजिक संस्थाहरु त धेरै छन्। तर एनआरएनए एउटा ठुलै संस्था हो। अष्ट्रेलिया नेपालबाट अध्ययन गर्नको लागि धेरै विद्यार्थीहरु आउने गर्छन्। यसरी पढ्न आएका विद्यार्थीहरुले आत्महत्या गर्ने जस्ता धेरै घटनाहरु घट्दै आएको पाइन्छ। त्यसैले तिनीहरुलाई त्यो समयमा सहि कुराको जानकारी दिने र सचेत गराउने कामहरु हामीले गर्छौं। जुनसुकै ठाउँबाट अध्ययनको लागि आएको अथवा कामको लागि आएको हुन्छ, उनीहरुको अकालमा मृत्यु भयो भने सरकार सामु गएर त्यसको प्रक्रियाहरु चालु गर्ने देखि लिएर त्यो शब आफ्नो देशमा पठाउने जस्ता कार्य गर्दै आएका छौं। यहाँ कतिपय विद्यार्थीहरुमा कुलतमा लागिरहेको हुन्छ, उनीहरुलाई परामर्श दिएर सहि बाटोमा हिड्न उत्प्रेरित गर्ने र आपतबिपतमा परेका नेपाली समुदाय र नेपाली विद्यार्थीहरु सबैलाई सहयोग गर्ने गरेका छौं। त्यस्तै यहाँको सरकारसंग आपतको समयमा प्रत्यक्ष पहुँच रहेको सिधा कुरा गर्न सक्ने संस्था एनआरएनए नै हो। स्थानीय सरकारसंग गएर पनि यहाँ कुनै कामदारको समस्या या विद्यार्थी या नेपाली नागरिकलाई केहि समस्या परेको खण्डमा हामीले अहिले सम्म सकेको समाधान गर्दै आएका छौं।

यस संस्था/समुदायसंग रहेर अबको आउदो दिनहरुमा के के कार्य गर्ने योजना बनाउनु भएको छ ?
सबै भन्दा पहिला त यहाँ आएपछि नेपालीहरुले नेपालीमा कुरा गर्न, नेपाली संस्कृतितर्फ इच्छा तथा चाहना देखाउन छोडेका हुन्छन्। यसलाई जोगाउन र नेपालसंग जोड्नको लागि एनआरएनएले विभिन्न भाषा र पाठशाला संचालन गरेको छ। त्यसैगरी यहाँ हुर्केका नानीबाबुहरुलाई नेपालका विद्यालयहरुमा लगियो भने उनीहरुले यहाँ सिकेका सिपहरुलाई त्यहाँको व्यक्तिहरुसंग आदानप्रदान गर्ने हिसाबले परियोजना निर्माण गरेका छौं। जसले गर्दा अब आउँने पुस्ताहरुलाई नेपालसंग जोडिने एउटा मध्यम पनि निर्माण हुने छ। हाम्रो सकेसम्म नेपालीहरुलाई नेपाल मै उद्योग कलकारखाना खोलेर जागिर दिलाउने उद्देश्य पनि छ। विदेशमा रहेको नेपाली पुंजी नेपालमा लगानी गरेमा राष्ट्रको लागि राम्रो हुन्छ कि भन्ने तरिकाले नेपालमा विदेशबाट नेपाली पुंजी भित्र्याउने कोसिसमा छौं। गैर आवसिय नेपालीका लागी एनआरएनए नागरिकताको लागी नेपाल सरकारसंग आग्रह गरेका छौं र नेपाल सरकार पनि राजनीतिक अधिकार बाहेक सबै अधिकार सहित नागरिकता दिन सकारात्मक रहेको र , जसले गर्दा विदेशमा बसेका नेपालीहरुले ढुक्क भएर नेपालमा लगानी गर्ने वातावरण बन्ने छ।