मिस नेपाल २०२२’ को उपाधि प्रियंका रानी जोशीलाई

0
75
प्रियंका रानी जोशी
प्रियंका रानी जोशी

काठमाडौं । मिस नेपाल -२०२२ वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितेकी छन्। शनिबार ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २२ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौं निवासी २४ वर्षीया जोशीले ‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि जितेकी हुन् । उनले मिस डिलाइट उपाधिसमेत हात पारिन्।

उपाधिसँगै उनले ‘मिस वर्ल्ड २०२२’का लागि नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छिन्। उनलाई ‘मिस नेपाल २०२०’ नम्रता श्रेष्ठले ‘क्राउन’ लगाइदिएकी थिइन्। त्यस्तै ‘मिस नेपाल अर्थ’ को उपाधि भने संखुवासभाकी २५ वर्षीया सरिशा श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि प्रतियोगी विराटनगरकी २४ वर्षिया न्यान्सी खड्काले जितेका छन्। मिस कन्फिडेन्टको उपाधि पनि मिस नेपाल अर्थ श्रेष्ठले नै जितिन् भने ‘मिस पपुलर चोइस’ उपाधि खड्काले हात पारिन्। त्यस्तै अन्य उपाधितर्फ ‘मिस ब्युटी विथ पर्पज’ प्रतियोगी स्मारिका शर्मा, ‘मिस फोटोजेनिक’ ममता ढकाल र ‘मिस ग्ल्यामर’ सोफिया श्रेष्ठले जितेकी छन्।

यस वर्षको मिस नेपालमा देशभरबाट झन्डै ८ सय जनाले आवेदन दिएका थिए। आवेदकहरुमध्ये १ सय ९६ जना छनोट गरी २३ जना प्रतिस्पर्धीहरु ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गराइएको थियो।