नेप्लिज अष्ट्रेलियन टेनिस क्लब ब्रिजवेनको मुख्य आयोजनामा टेनिस च्याम्पियनसिप हुँदै

0
102
टेनिस च्याम्पियनसिप

ब्रिजवेन। अष्ट्रेलियाको ब्रिजवेनमा एनएटिसी टेनिस च्याम्पियनसिप हुने भएको छ। नेप्लिज अष्ट्रेलियन टेनिस क्लब ब्रिजवेनको मुख्य आयोजनामा सो प्रतियोगिता हुन लागेको हो।

एनएटिसी ब्रिजवेन टेनिस च्याम्पियनसिपमा न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड, भिक्टोरिया र नर्दन टेरिटोरीबाट उत्कृष्ट ५० जना टेनिस खेलाडीहरुको सहभागिता रहने छ। प्रतियोगितालाई समाजसेवी, रमाइलो, फिटनेसको साथै समुदायमा टेनिस खेलको प्रवर्द्धन र अब आउने पुस्ताहरुलाई यस खेलसम्बन्धी उत्प्रेरित बनाउने सोचका साथ च्याम्पियनसिपको आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष म्याक बिष्टले बताउनु भयो। साथै उहाँले खेल मार्फत समुदायको एकता तथा समृद्धिमा सहयोग पुर्याउने आफूहरुको उद्देश्य रहेको समेत बताउनुभयो।

च्याम्पियनसिप ब्रिजवेनको क्वीन्सल्याण्ड टेनिस सेन्टरमा आयोजना हुने भनिएको छ। शनिबार (जुन १८) तारिख प्रारम्भिक राउण्ड र क्वाटरफाइनलका खेल हुँदै (जुन १९) आइतबार भने सेमिफाइनल र फाइनल खेलहरु हुनेछन्। समूह ‘ए, बी र सी’ मा वर्गीकरण गरेर खेलहरु हुनेछन्। प्रतियोगिताकै क्रममा बालबालिका र ४५ वर्ष वा सो भन्दा माथिका ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रमहरुको व्यवस्था गरिएको आयोजक क्लबले जनाएको छ। प्रतियोगितामा अतिथिका रुपमा टेनिस क्वीन्सल्याण्ड बोर्ड, टेनिसका वरिष्ठ खेलाडी एवंम प्रशिक्षकहरुको सहभागिता रहने पनि आयोजक क्लबको दावी छ।