“विदेशमा आफ्नो दु:ख अनुसारको कमाई हुने हुँदा, उतै सेटल हुनु”

0
321

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, बालाजु घर हुनुभएकी रमिता खत्रीसंग कुराकानी गरेका छौं

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो छोरीहरुले पठाइदिएका हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
अष्ट्रेलिया रहेका छोरीहरुले नेपालमा भएको आमाबुवालाई सम्झेर उपहार पठाइदिएको हुँदा धेरै राम्रो लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनीहरु अष्ट्रेलिया गएको ७ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
एउटा छोरी सिड्नीमा र एउटा छोरी पर्थमा बस्छन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
विकशित देशमा आफ्नो पढाईको साथै भविष्य पनि राम्रो बनाउन गएको हुँदा अवश्य खुसी लाग्छ नि ! समाजमा छोरी मान्छेले केहि गर्न सक्दैनन् भन्नेहरुको अघि उनीहरुले गरेर देखाएको हुँदा धेरै खुसी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
उनीहरु बिना त केहि चाडपर्वहरु पनि नआए हुन्थ्यो जस्तो लाग्छ। अरु समयमा मन बुजाउन सकेपनि चाडपर्वको बेलामा धेरै गाह्रो हुने रहेछ। मेरो विदेशिएका दुबै छोरीहरुको धेरै सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
आफ्नो देशलाई छोडेर अरुको देशमा सेटल भएर बस्नु राम्रो होइन। हामीले गरेर खानी उमेर हुँदा सम्म उनीहरु आफ्नो भविष्यको लागि उतै कमाउँदै बस्नु ठिक हो तर आफुलाई त्यहाँ सम्म पुर्याउने आमाबुवालाई छोडेर उतै सेटल हुनु नराम्रो हो। आफ्नो सन्तानहरु आफूबाट टाढा हुँदा सबै आमाबुवालाई धेरै गाह्रो हुन्छ। अष्ट्रेलिया आफ्नो पढाई पुरा गर्न गएको हुँदा पहिला पढाई सकेपछि अलि अलि पैसा कमाएर स्वदेशमै फर्किदा राम्रो हुन्छ जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छु।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको वातावरण, सरसफाई, नियम कानुनहरु राम्रो लाग्छ। अष्ट्रेलियाको गर्मी मौसम मलाई अलि नराम्रो लाग्छ।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालीहरु यी देशहरुमा सेटल हुनु पनि एक पक्षबाट हेर्दा राम्रो देखिन्छ भने अर्को पक्षबाट हेर्दा नराम्रो पनि देखिन्छ। आफ्नो पढाईलाई सकेर आफु बिस्तारै सेटल हुँदै आफ्नो परिवारलाई पनि उतै सेटल गएर बस्नु राम्रो हुन्छ। विदेशतिर आफुले दु:ख गरेको बराबर आम्दानी पाइने हुँदा उनीहरुको लागि उतै बस्नु राम्रो हुन्छ। उतै सेटल हुनु उनीहरुलाई आफ्नो भविष्य संगै आफ्नो आमाबुवाको पनि हेरचाह गर्नुपर्ने हुँदा आफ्नो परिवार संगै विदेशमा सेटल भएको राम्रो हुन्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफु जुनसुकै देशमा सेटल भएपनि आफ्नो घरपरिवार र देशलाई कहिल्यै नबिर्सिनुहोला भन्न चाहन्छु।