“आफ्नो पढाईलाई प्राथमिकता दिनुपर्ने हुँदा परिवारबाट टाढिन बाध्य”

0
64

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, ललितपुर घर हुनुभएकी सिर्जना केशीसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो भाईबुहारीले पठाएका हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
मेहनत गरि कमाएको पैसाले आफ्नो दु:ख नहेरेर परिवारको खुसी हेरी त्यति टाढाबाट उपहार पठाउँदा धेरै खुसी लाग्यो। आफ्नो दिदिको लागि सरप्राइज स्वरुप उपहार पठाउँदा धेरै राम्रो अनि रमाइलो लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनीहरु अष्ट्रेलिया गएका ३ वर्ष भयो ।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनीहरु अष्ट्रेलियाको मेलवर्नमा बस्छन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
उनीहरु अष्ट्रेलिया गएकोमा राम्रो पनि लाग्छ नराम्रो पनि लाग्छ। परिवारबाट धेरै टाढा हुने हुँदा नराम्रो लाग्छ भने आफ्नो भविष्य राम्रो बनाउन गएको र अहिलेसम्म प्रगति गरेको हुँदा खुसी पनि लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वहरुमा मात्र होइन अरु बेलामा पनि धेरै सम्झना आउँछ। मेरो भाई बुहारीसंग रमाइलो गरि चाडपर्वहरु मनाउन पाए हुन्थ्यो जस्तो लाग्छ। हामी देखि टाढा भएपनि उनीहरुलाई धेरै याद गरेको हुन्छौं।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उनीहरुलाई सधैँ परिवारसंगै बसेर पनि हुँदैन। आफ्नो भविष्य पनि हेर्नु पर्ने हुँदा उतै सेटल भएको राम्रो हुन्छ जस्तो लाग्छ। आफ्नो जिविकोपार्जनको लागि पैसा नै चाहिने हुन्छ, त्यसैले नेपालमा पैसा कमाउने कुनै राम्रो बाटो देख्दिन्। स्वदेशमा रोजगार पाए पनि आफ्नो परिश्रम अनुसारको कमाई हुँदैन। समयसमयमा आफन्तीहरुसंग भेटघाट गर्ने नेपाल आउने र बाकी आफ्नो जिन्दगीलाई उतै सेटल गराउँदा राम्रो हुन्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिलेसम्म अष्ट्रेलिया गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अष्ट्रेलिया अहिलेसम्म नगएको हुँदा त्यहाँको राम्रो नराम्रो भन्ने बारे खासै ज्ञान भएन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालीहरु आफ्नो भविष्यको कारणले विदेश गएर सेटल हुँदैमा त्यसलाई हामीले नराम्रो भन्न मिल्दैन। नेपालमा कुनै पनि कुराको सुविधा नहुँदा आफ्नो बालबालिकाको भविष्यको लागि पनि विदेशिनु पर्ने हुन्छ। आखिर जहाँ गएर पनि दु:ख आफैँले नै गर्ने हो। परिवारबाट टाडिनु कसैलाई पनि रहर हुँदैन। सबैभन्दा पहिलो प्राथमिकता आफ्नो पढाईलाई दिनुपर्ने हुँदा घरपरिवारबाट टाढा जानु परेको हो। त्यसकारण अष्ट्रेलिया बस्नेलाई उतै ठिक लाग्छ भने नेपाल बस्नेलाई नेपाल नै ठिक लाग्ने गर्छ। म के भन्न चाहन्छु भने आफुलाई जता बस्न मन पर्छ र जता बस्दा आफुलाई राम्रो हुन्छ उतै बस्नुहोला।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
राम्रो संग बस्नु, आफ्नो स्वास्थ्यको ख्याल गर्नु र आफ्नो देशलाई कहिल्यै नबिर्सनु।