
बैशाख २६,
चितवनमा नेपाली कांग्रेसका एक युवा नेताको हत्या भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान)को हत्या स्थानिय निर्वाचनसँग सम्बन्धित नरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । चितवनको भरतपुर महानगरपालिका–१२ घर भएका २८ वर्षीय अनिल परियार ‘कान कुहिए’माथि भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ अज्ञात समूहले छुरा हानेको थियो।
छुरा प्रहारबाट घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । काँग्रेसका बागमती प्रदेश प्रतिनिधि समेत रहका उनी काँग्रेसका सक्रिय कार्यकर्ता हुन् ।
प्रारम्भिक अनुसन्धानबाट हत्या चुनावसँग सम्बन्धित नदेखिएको चितवनका एसपी नवराज अधिकारीले बताए । एसपी अधिकारीले भने,‘अहिलेसम्म चुनावसँग सम्बन्धित देखिएको छैन, हामी अनुसन्धान गर्दै छौं ।’ परियार ज्यान मार्ने उद्योग मुद्दामा जेल बसेर गत वर्ष रिहा भएका थिए ।