“विदेशमा धेरै सेवासुविधा हुने हुँदा, आफ्नो भविष्य बनाई उतै सेटल भएको राम्रो”

0
180

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले ललितपुर, टिकाथली घर हुनुभएकी शोभाना देवी नेपालसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो छोरीले पठाइदिएकी हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
हाम्रो लागि छोरीले उपहार पठाएकी छिन् भन्नि पनि थाहा थिएन। उसले टाढाबाट सम्झेर उपहार पठाउछिन् भन्नि हामीहरुले सोचेको पनि थिएनौ। हाम्रो विवाह वार्षिकोत्सवको अवसर पारेर सरप्राईज पठाएको हुँदा मलाई धेरै खुसी लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनी अष्ट्रेलिया गएको ४ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
मेरी छोरी अष्ट्रेलियाको क्यानबेरामा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
उनले अहिले राम्रो ठाउँमा टेकेकी छिन्। पारिवारिक अवस्थाको साथै उनको भविष्य पनि राम्रो बनाउन र आफ्नो खुट्टामा आफैँ उभिन सक्ने हिम्मत राखेर गएको हुँदा मलाई लगाएत सबै परिवारलाई राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो छोराछोरी संगै नभएको बेलामा चाडपर्व पनि हामीलाई रुवाउन आएको जस्तो लाग्छ। चाडपर्वको दिन पनि छोरी काममा गएकी हुन्छिन्, उनी उता काममा मरिमेटी खटिएको बेलामा हामी कसरि खुसी हुन् सकिन्छ र ! नानीको धेरै सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
नेपालमा बसेर आफ्नो भविष्यको लागि केहि फाइदा हुँदैन। चाडपर्वको बेलामा या ३/४ वर्षमा एकचोटी समय मिलाएर आफ्नो घरपरिवारलाई भेट्न आउने जाने गरेर उतै सेटल भएको राम्रो लाग्छ। सधैँ आफ्नो परिवारको साथमा बसेर पनि हुँदैन। आफ्नो भविष्यको लागि भएपनि उतै सेटल हुनु राम्रो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिलेसम्म अष्ट्रेलिया गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको राम्रो भनेको मान्छेहरु सुरक्षित रहन्छन्, पढाई राम्रो हुने हुँदा धेरै नेपालीहरुले आफ्नो भविष्य राम्रो बनाउन पाएका छन्। मेरो विचारमा अष्ट्रेलिया बारे नराम्रो भन्नको लागि केहि छैन जस्तो लाग्छ।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यी देशहरुमा गएर सेटल भई बस्नु पनि राम्रो हो। नेपालमा केहि छैन भन्न पनि मिल्दैन, गर्नेहरुले नेपालमा बसेर पनि धेरै प्रगति गरेका छन्। सबैको आ-आफ्नो इच्छा हुने हुँदा कोहि विदेशतिर सेटल हुन्छन् भने कोहि स्वेदेशमै बसेर केहि गरेका हुन्छन्। आफुले खोजेको जस्तो पढाई र मेहेनत अनुसारको श्रम नहुने हुँदा आफ्नो सपना पुरा गर्नको लागि भएपनि विदेशिनु पर्नेहुन्छ। स्वदेशमा भन्दा धेरै सेवासुविधा विदेशमा हुने हुँदा उतै सेटल भएर आफ्नो भविष्य बनाएको राम्रो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
सधैँ यस्तै खुसी हुनु भन्न चाहन्छु।