“विदेश घुम्न र पैसा कमाउन राम्रो, सेटल हुन होइन”

0
159
receiver talk
receiver talk

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भरतपुर, कृष्णपुर घर हुनुभएको बिष्णु प्रसाद पौडेलसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो छोराबुहारीले उपहार पठाइदिएका हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफुहरु टाढा भएर नेपालमा भएका बुढा आमाबुवाको लागि सानो भएपनि उपहार पठाउँदा हामीलाई धेरै राम्रो र खुसी लाग्छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनीहरु अष्ट्रेलिया गएको ६ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनीहरु अष्ट्रेलियाको गोल्डकोस्ट ठाउँमा बस्छन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो भविष्य सँगै आफ्नो सन्तानको पनि भविष्य राम्रो बनाउन गएको हुँदा हामी सबै परिवारलाई राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
सबै परिवार साथमा बसेर चाडपर्व मनाउन नपाउँदा चाडपर्व पनि नआए हुन्थ्यो जस्तो लाग्छ। मेरो छोराबुहारीलाई धेरै सम्झेको हुन्छु।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मेरो बिचारमा विदेशमा भन्दा नेपाल मै फर्किए राम्रो हुन्थ्यो जस्तो लाग्छ। आफ्नो पढाई सक्नको लागि जानी हो, आफ्नो पढाई सकेपछि दुईचार पैसा कमाएर स्वदेशमै फर्किएको राम्रो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ? अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? ( पढ्न/ घुम्न/ काम गर्न)
म अष्ट्रेलिया अहिलेसम्म गएको छैन। म अष्ट्रेलिया घुम्नको लागि जाने सोच बनाएको छु।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
मलाई सबैभन्दा धेरै त्यहाँको नियम कानुन राम्रो लाग्छ। अष्ट्रेलियाको वातावरण नेपालको परिवेशमा धेरै राम्रो छ भन्ने सुनेको पनि छु। नेपालीहरु अष्ट्रेलिया गएपछि कत्तिले उतैको रहन सहन गरेर नेपाललाई बिर्सिने गरेको पनि पाइन्छ यो कुरा सुन्दा नराम्रो लाग्छ।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यी देशहरुमा घुम्नको लागि या केहि वर्ष कमाउनको लागि जानु राम्रो हो तर सेटल भएर उतै बस्नको लागि जानु ठिक होइन जस्तो लाग्छ। नेपालमा जस्तो एक अर्कालाई दु:ख परेको बेलामा साथ दिदैनन् अन्य देशमा। सबैजना आ-आफ्नो काममा व्यस्त हुने गर्छन् त्यसैले पनि काममा उनीहरुलाई अरुको वास्ता हुँदैन। नेपालमा भएजस्तो समाज सेवासुविधा पनि केहि हुँदैन। विदेशतिर घुम्न जति रमाइलो भएपनि बस्नको लागि स्वदेशमै फर्किनु राम्रो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला। सबैजना सुरक्षित रहेर बस्नुहोला भन्न चाहन्छु।