“पैसा र भविष्य मात्र हेरी आफ्नो परिवारलाई बिर्सेर उतै सेटल हुनु राम्रो होइन”

0
279

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले चितवन, गडुवा घर हुनुभएकी कमला देवी तामाङ्गसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरी छोरीले उपहार पठाइदिएकी हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफ्नो दु:ख बिर्सिएर पनि आमाबुवाको खुसी रोजेर त्यति टाढाबाट उपहार पठाउँदा धेरै राम्रो लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उ अष्ट्रेलिया गएको ५ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
नानी अष्ट्रेलियाको तास्मनियामा बस्छे।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
नेपालमा बसेर न आफ्नो पढाई पुरा गर्न सकिन्छ न त आफ्नो पढाई अनुसारको रोजगार पाउन नै सकिन्छ। उता भएपछी आफु पनि व्यस्तता हुने हुँदा मलाई उ अष्ट्रेलिया गएकोमा राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो छोरी धेरै टाढा भएको बेलामा चाडपर्व पनि नआए हुन्थ्यो जस्तो लाग्छ। चाडपर्वमा मात्र नभई सधैँ सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
आफ्नो देशमा फर्किए पनि राम्रो हो, आफ्नो भविष्यको लागि उतै सेटल हुनु पनि राम्रो हो। आफु जिउनको लागि पैसा नै चाहिन्छ। नेपालमा रोजगार केहि छैन। नेपालमा रोजगार पाए पनि आफ्नो श्रम अनुसारको कमाई छैन। नेपालमा आउजाउ गरेर अष्ट्रेलिया नै सेटल भएको ठिक हुन्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको बारे मैले धेरै सामाजिक सञ्जालमा नहेर्ने हुँदा के राम्रो के नराम्रो भन्ने थाहा भएन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालीहरु यी देशहरुमा सेटल भएर बस्नु मलाई राम्रो लाग्दैन। पैसा र भविष्य मात्र हेरर आफ्नो घरपरिवारलाई बिर्सेर उतै सेटल हुनु राम्रो हुँदैन। अरुको देशमा गएर पैसा कमाउन सकेपनि आफ्नो परिवारको जस्तो माया कमाउन सकिदैँन। यी देशहरुमा गएर धेरै पैसा कमाएर आफ्नै देशमा आएर केहि गर्न सक्नुपर्छ। पैसा कमाउनु मात्र ठुलो कुरा होइन। अरु देशहरु जति विकशित भएपनि आफ्नो देशमा भए जस्तो हुँदैन। सबै विदेशिएका नेपालीहरु सकेसम्म आफ्नो स्वदेशमा फर्किनु तर उतै सेटल हुनी तरिकाले कोहि विदेश नजानुहोला।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो पढाई र उद्देश्य पुरा गरेर आफ्नै देशमा फर्किनु होला।