साझा एजेण्डाका साथ भरतपुरको मेयर-उपमेयरमा योगलाल श्रेष्ठ र पवित्रा जोशी

0
400

भरतपुर – भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गठबन्धनविरुद्ध राप्रपाबाट नै उम्मेदवारी परेको छ । एमाले-राप्रपा गठबन्धनविरुद्ध योगलाल श्रेष्ठ र पवित्रा जोशीले उम्मेदवारी दिएका हुन् ।श्रेष्ठले महानगरको मेयर तथा जोशीले उपमेयरमा उम्मेदवारी दिएका हुन् । आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै उम्मेदवारद्धयले एमाले-राप्रपा गठबन्धनविरुद्ध आफुहरुले उम्मेदवारी दिएको बताए ।

मेयरका उम्मेदवार श्रेष्ठले बिचार सिद्धान्त नै नमिल्ने पार्टीसँग राप्रपाले गठबन्धन गरेकोले त्यसविरुद्ध उम्मेदवारी दिएको बताए । ठूला भनिएका दलहरु नातावाद त कृपावादमा लिप्त हुँदा पदका लागि त्यही दलसँग गठबन्धन गर्नु अनुचित भएको उनको भनाइ थियो ।उपमेयरकी उम्मेदवार जोशीले गठबन्धन नभएको भए अहिलेको अवस्था आउने थिएन भन्दै गठबन्धनविरुद्ध नै आफुहरुले उम्मेदवारी दिएको बताईन् । उनले जनताको मत र मन जितेर विजयी हुने विश्वास व्यक्त गरिन् ।

यस्तै उम्मेदवारद्धयले आफ्नो प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् । प्रतिवद्धतापत्रमा वृद्धवृद्धा आमाबुवालाई वृद्धाश्रम छोड्ने छोराछोरीलाई दण्डित गरिने उल्लेख छ । यस्तै ५० वर्ष भन्दा माथिका आमाबुवा र जेष्ठ नागरिकलाई सम्मानपूर्वक उपचार र हेरचाह गरिने तथा वृद्धवृद्धा मैत्री मनोरन्जनपार्कको व्यवस्थापन गरिने पनि प्रतिवद्धतापत्रमा भनिएको छ ।

कक्षा १२ सम्म अनिवार्य शिक्षा, भरतपुरलाई फोहोररहित शहर, महिलालाई घरमै बसी आयमुलक कार्यको व्यवस्थापन, ए‍ेलानी जग्गा खोजी व्यवसायिक संस्था र बिरामी कुरुवा घर बनाउने उपमेयर पदकी उम्मेदवार जोशीले बताईन् ।उनले ढल निकास र प्रदुषणरहित नारायणी नदी, तटबन्धको स्थायी व्यवस्थापन, प्रविधिमैत्री शिक्षा, अपाङ्ग, महिला र उत्पीडित विपन्न वर्गले सञ्चालन गरेको व्यवसायमा कर सहुलियत, महानगरबासीको अनिवार्य स्वास्थ्य बीमा, महानगरकै लगानीमा विपन्न वर्गका नागरिकको स्वास्थ्य बीमा, अनलाइन भुक्तानीलगायतको व्यवस्था गरिने बताईन् ।

यसैबीच स्वतन्त्र उम्मेदवारद्धयले आजबाट घर दैलो अभियान पनि सुरु गरेका छन् । शनिबार चुनाव चिन्ह पाएसँगै आजबाट घरदैलो अभियान सुरु गरिएको हो । भरतपुरको २९ वटै वडामा घरदैलो कार्यक्रम गरिने मेयर पदका उम्मेदवार श्रेष्ठले बताए । उनीहरुले ‘खाने पानीको धारा’ चुनाव चिन्ह पाएका छन् ।