

घर परिवारसंग टाढा हुँदा परिवारको याद आउनु स्वाभाविक हो। अझ विशेष दिन र चाडपर्वमा टाढा रहँदा खल्लो महसुस हुन्छ। हिमालयन कंगारुले यो खल्लोपनलाई केही हदसम्म कम गर्ने उद्देश्यका साथमा ‘आमाको सम्झना’ विशेष स्तम्भ सुरु गरेको छ। यो स्तम्भ आउँदै गरेको मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा तयार पारिएको हो। यसपाली आमाको मुख हेर्ने दिन वैशाख १७ (अप्रिल ३०) मा परेको छ।
यसै सन्दर्भमा अष्ट्रेलियाको मेलवर्नमा बसोवास गरिरहनुभएका सुमन दाहालसंगको विशेष कुराकानी :
अष्ट्रेलिया जानुभएको कति भयो ? अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ ?
म भखर भखर अष्ट्रेलिया आएको हो, यहाँ आएको तिन महिना भयो। म अहिले आफ्नो पढाईलाई निरन्तरता दिँदै छु।
नेपालमा हजुरको घर कहाँ हो ? परिवारको कत्तिको सम्झना आउँछ ?
मेरो घर ललितपुर, भैसीपाटी हो। आफ्नो परिवारको सम्झना त अवश्य आउँछ नै, कहिले कहिँ घर छोडेर बाहिर बस्न जाँदा त सम्झिन मन लाग्छ भने अहिले त म धेरै टाढा छु याद नआउने भन्ने कुरा नै हुँदैन नि ! हर कुरामा साथ दिने परिवारको सम्झना धेरै आउँछ।
आमाको मुख हेर्ने दिन आउँदैछ, आमालाई कसरी सम्झिन चाहनुहुन्छ ?
मैले मेरी आमाको लागि गिफ्ट पठाएको छु र फोन गरेर सम्झिनेछु।
योभन्दा अगाडी आमाको मुख हेर्ने दिनमा कहिले आमासंग संगै हुनुहुन्थ्यो ?
आमा सँग सँगै थिए अष्ट्रेलिया आउँदाको दिन त्यसैले पनि आमाको मुख हेर्ने दिनको विशेष रुपमा मानिन्थ्यो।
आमासंग बिताएको सबैभन्दा अविस्मरणीय क्षण बताइदिनुहोस् न !
आमासंग बिताएका हर पल भुल्न नसकिने हुन्छ, आमा शब्द नै काफी छ अविस्मरणीय क्षण बन्नको लागि। मेरो जीवनमा सँगै बसेको, रमाइला कुराकानी गरेको, आमाले पकाएको खाना, आमाले गरेको माया र साथ सबै अविस्मरणीय क्षण रहेको छ।
आमाको लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ ?
मुख्य कुरा भनेको आमालाई सधैँ खुसी राख्न पाए हुन्थ्यो, कहिल्यै केहि कुराको कमि नगराई राख्न पाए हुन्थ्यो भन्ने लाग्छ। म आफु छोरो हुनुमा मेरी आमाको लागि राम्रो काम गरेर गर्व महशुस गराउन पाए हुन्थ्यो भन्ने लाग्छ।
विदेशमा हुँदा आमाको खाँचो कत्तिको महशुस हुँदोरहेछ ?
अष्ट्रेलिया आएपछि मात्र होइन आफ्नी आमाको खाँचो त हर जो कुनै समयमा पनि महशुस हुन्छ। तर, मलाई के लाग्छ भने आफ्नो परिवारमा आमा हुनुभयो भने कुनै समस्या नै आउँदैन। आमा त्यो शब्द हो जसले आफ्नो पुरै परिवारलाई एकताबद्ध रुपमा बाधेको हुन्छ।
आमालाई केही विशेष संदेश दिन चाहनुहुन्छ ?
आफ्नो ख्याल राख्नु समय समयमा फोन गरिरहन्छु पिर नलिनु भन्न चाहन्छु।