“आकास पातालको फरक छ, देखेको भरमा नआउनुहोला : अष्ट्रेलिया”

0
487

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको डार्विनमा बसोवास गरिरहनुभएका सुमन अधिकारीसंग कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो नेपालको घर भरतपुर हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ६/७ वर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
अहिले म आफ्नो पढाई सकेर काम गर्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ? कुन विषय पढ्नको लागि जानुभएको हो ?
नेपालबाट म मास्टर लेभलको पढाई सकेर अष्ट्रेलिया आएको हो। म अकाउन्टेन विषय पढ्नको लागि अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
अष्ट्रेलिया आएपछि सुरुसुरुमा पढ्न वा काम गर्न सबैलाई गाह्रो हुन्छ। यहाँको पढाईलाई राम्रोसँग पढ्न सक्यो भने धेरै गाह्रो छैन। यहाँको पढाईले अष्ट्रेलियामा मात्र नभई आफ्नै देशमा गएर देशमा नयाँ कुराको विकास गराएर अन्य नेपाली बेरोजगारीलाई पनि रोजगार दिन सकिन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
नेपालमा देखेको अष्ट्रेलिया र यहाँ आएर भोगेको अष्ट्रेलियामा आकाश पातलको फरक छ। देश फरक भएपछी सबैकुराको फरक हुन्छ। अष्ट्रेलिया आईसकेपछि आफ्नो भविष्यको लागि आफैले दु:ख गर्नु पर्ने रहेछ भन्ने कुरा अनुभव पाएको छु।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
आफ्नो देश जस्तो अरुको देश हुँदैन। यहाँको भाषा, चलन, मान्छे, समाज र माहोल सबै फरक हुने हुँदा काम पाउन मात्र नभई यहाँको माहोलमा भिज्न पनि धेरै गाह्रो हुन्छ। मैले सबैभन्दा सुरुमा ड्राईभिङ्गबाट काम सुरु गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
अष्ट्रेलियाको बसाईले मलाई आफ्नो खुट्टामा आफै उभिनको लागि धेरै दु:ख र मेहेनत गर्नुपर्छ भन्ने कुरा सिकायो। यहाँको राम्रो पक्ष भनेको देश विकशित हुनाले मान्छेहरुले बढी सेवासुविधा पाएका छन्। नराम्रो पक्ष भनेको नेपालको तुलनामा यहाँ धेरै स्वतन्त्रता हुने हुँदा मान्छेहरु बिग्रन सक्छन्।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलियाको नेपाली समुदाय मलाई ठिकै लाग्छ। चाडपर्वहरुको बेलामा सबैले आफ्नो काम पढाईलाई नहेरेर रमाइलो गर्छन्। म आफुमा धेरै व्यस्तता रहेका कारण धेरै सहभागी हुन पाउदिन। समुदायका लिडरहरुलाई केहि सुझाव दिन चाहान्न।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
अष्ट्रेलियामा मात्र रहँदा होइन घरपरिवारबाट थोरै टाढा हुँदा पनि धेरै सम्झना आउँछ। अहिले त म परिवारबाट धेरै टाढा छु एकदम धेरै सम्झना आउँछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आएका नयाँ विद्यार्थीले आफु जे उद्देश्यको लागि आउन चाहनु हुन्छ पहिला त्यो पुरा गर्नुहोला। जति हजुरहरुले सामाजिक संजालमा देख्नु भएको छ त्यो भन्दा धेरै अष्ट्रेलिया आईसकेपछि फरक पाउनु हुन्छ। हजुर अष्ट्रेलिया पढ्न आउनुभएको छ भने पहिला आफ्नो पढाईलाई ध्यान दिनु पैसा त पछि पनि कमाउन सकिन्छ। यदि हजुरहरु काम गर्न आउनुहुन्छ भने नेपालबाट केहि सिप सिकेर मात्र आउनुहोला। आफुमा केहि सिपको विकास गरेर आउनु भयो भने यहाँ आइसकेपछि काम खोज्न र गर्न सजिलो हुन्छ। अभिभावकले आफ्नो छोराछोरीप्रति अष्ट्रेलिया आउने बित्तिकै धेरै आश नराख्दिनु होला।