

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलवर्नमा बसोवास गरिरहनुभएका सुदन कुंवरसंग कुराकानी प्रस्तुत गरेका छौँ।
नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर चितवन हो।
अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ४ वर्ष भयो।
अहिले के गर्दै हुनुहुन्छ ?
अहिले म आफ्नो पढाई सकेर काम गर्दै छु।
नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ? कुन विषय पढ्नको लागि जानुभएको हो ?
म नेपालबाट +२ को पढाई सकेर अष्ट्रेलिया आएको हो। म अष्ट्रेलिया आई.टि विषय पढ्नको लागि आएको हो।
तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
आफ्नो भविष्य बनाउनको लागि अष्ट्रेलियाको पढाई धेरै फाइदाजनक छ। यहाँको पढाई धेरै महंगो भएका कारण पढाई छोडेर धेरैले काम मात्र गरेर बसेका हुन्छन। पढाई जति महंगो भएता पनि राम्रोसँग पढ्न सक्यो भने आफुलाई नै पछि गएर धेरै राम्रो हुन्छ। पहिला आफ्नो पढाईलाई निरन्तता दिएर पढ्न सक्नुपर्छ। दु:ख गरेर पढ्न सक्यो भने पछि दु:ख अनुसारको फल पनि राम्रो नै पाइन्छ।
नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले नेपालमा हुँदा अष्ट्रेलियाको बारे धेरै सोच राखेको थिएन। मैले सामाजिक संजालमा अष्ट्रेलियाको बारे धेरै हेर्ने गर्थे। देखेको र आफुले भोगेकोमा धेरै नै फरक हुन्छ। आफुले जति सोचेर अष्ट्रेलिया आएको हुन्छ,यहाँ आईसकेपछि सोचेको भन्दा धेरै फरक भेटिन्छ। अष्ट्रेलियामा आईसकेपछि दु:ख पछि सुख लुकेको हुन्छ भन्ने कुरा अनुभव गरेको छु।
काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई काम खोज्न धेरै नै गाह्रो भएको थियो। विरानो ठाउँमा न कतै जानेको, न कतै चिनेको जता हेरेपनि एक्लै र जता गएपनि एक्लै भएका कारण अष्ट्रेलियामा मात्र नभई अन्य देशहरुमा आएर सुरुमा काम खोज्न धेरै नै गाह्रो हुन्छ। मैले सरसफाईबाट काम सुरु गरेको थिए।
अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मैले अष्ट्रेलिया आएर धेरै कुरा सिक्न पाएको छु। सबैभन्दा पहिला मैले समयको महत्व चिने। आफ्नो परिवार, पढाई, काम सबैलाई कसरी समय दिने भन्ने कुरा सिकायो। यहाँको राम्रो पक्ष भनेको धेरै नै छन्। यहाँ आईसकेपछि आफ्नो भविष्य बनाउन सकिन्छ, पैसा कमाउन सकिन्छ जस्ता धेरै कुराहरु छन्। यहाँको नराम्रो पक्ष भनेको यहाँ कोहि चिनेको नहुने हुँदा स्वतन्त्रताका कारण नेपाली युवायुवतीहरु बिग्रने सम्भावना बढी हुन्छ। नेपालमा हुँदा आफ्नो परिवारको साथमा डरले भएपनि आफ्नो ठाउँमा बस्थे भने यता आएपछि उनीहरुलाई कोहीको डर हुदैन।
अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलियाको नेपाली समुदाय धेरै नै राम्रो लाग्छ। कुनै नेपाली चाडपर्वको बेलामा सबैजना एकजुट भएर रमाइलो गर्ने गर्छौ। सबैले सबैलाई आफ्नो दाजुभाई दिदीबहिनी सरह सम्मान गर्नुहुन्छ। नेपाली चाडपर्वहरुमा आफ्नो परिवारसँग बसेर मनाउन नपाए पनि यहाँ सबैजना मिलेर रमाइलो गर्दा छुट्टै रमाइलो भएको महशुस हुन्छ। समुदायका लिडरले जे गर्नु भएको छ, हामी सबैको खुसीको लागि गर्नु भएको छ। सधैँ यस्तै खुसी दिनुहोला र हजुर पनि सधैँ खुसी हुनुहोला भन्न चाहान्छु।
अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
आफ्नो परिवार भनेको परिवार नै हुन्छ। परिवारको सम्झना नआउने त्यस्तो कुनै ठाउँ छ जस्तो मलाई लाग्दैन। आफु जुन ठाउँमा भएपनि जति पैसा कमाएपनि परिवारको सम्झना धेरै आउँछ। परिवारको कारण आज हामी यो ठाउँमा आएको हो। ठुलो ठाउँमा आएर दुई चार पैसा कमायो भन्दैमा परिवारलाई बिर्सन सकिदैन। आफ्नो परिवारको धेरै सम्झना आउँछ।
अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउँदा सबैभन्दा पहिला आफु हिम्मतिलो भएर आउनुहोला । अष्ट्रेलियामा दु:ख पाएका कारण नेपालबाट पैसा पठाएर आफ्नै देशमा फर्केका समाचार पनि सुन्नु भएको होला। कतिपय नेपालीहरुले आफ्नो दु:ख पिडा आफ्नो परिवारसँग लुकाएर अन्तिममा हार मानेर आत्महत्या गरेका हुन्छन। अष्ट्रेलिया भनेको दु:ख को देश हो। धेरै दु:ख कष्ट गरेर मात्र पछि सुख पाइन्छ। यदि हजुरले छिटै आफु माथि हरेश खानु हुन्छ भने रहरले मात्र नआउनु होला। अनि अभिभावकले बुज्नु पर्ने कुरा भनेको आफ्नो छोराछोरीलाई पैसा पठाउन भनेर मात्र धेरै टचर नदिनु होला। छोराछोरी पराई देशमा हुनेहुँदा उसलाई बढी माया र हौसला दिनुहोला।