“भोगाइको अष्ट्रेलिया : दु:ख र संघर्ष नै भविष्य निर्माता”

0
122

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका सन्ध्या श्रेष्ठसंग कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो नेपालको घर काठमाडौँ, बालाजु हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको २ वर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ? कुन युनिभर्सिटी /कलेजमा र कुन लेभलमा पढ्दै हुनुहुन्छ ?
अहिले म पढाईको साथै काम पनि गर्दै छु। सिड्नी युनिभर्सिटीमा बि.बि.एस लेभलमा पढ्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
नेपालबाट +२ को पढाई सकेर अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
राम्रोसँग पढ्न सकियो भने अष्ट्रेलिया या अन्य देशहरुको पढाईले पनि आफ्नो करियर बनाउन सकिन्छ। आफ्नो पढ्न सक्ने क्षमता धेरै भयो भने त्यहिँ अनुसारको जागिर गर्दै गएपछि आफ्नो करियर बनाउनको लागि धेरै समय लाग्दैन। अष्ट्रेलियामा आफ्नो विषयको पढाई सकेपछि आफ्नै देशमा फर्केर पढाई अनुसारको केहि गरेर आफ्नो भविष्य बनाउछु भन्न पनि सकिन्छ। आफु राम्रोसँग पढ्दै जागिर गर्यो भने आफुसँगै आफ्नो परिवारलाई पनि सेटल बनाउन सकिन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
नेपालमा हुँदा फोटोमा देखेको अष्ट्रेलिया र अष्ट्रेलिया आइसकेपछि प्रत्यक्ष देखेको अष्ट्रेलियामा धेरै नै फरक छ। नेपालमा बसेर समाजिक संजालमा हेरको भिडियोमा केहि दु:ख देखिएको हुदैन। यहाँ आएर हेर्दा जता सुकै दु:ख देखिन्छ। धेरै दु:ख र संघर्ष गरिसकेपछि मात्र आफ्नो भविष्य बन्छ भन्ने कुरा अष्ट्रेलिया आईसकेपछि अनुभव पाएको छु।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मेरो साथीहरु पहिलैबाट यतै भएका कारण मलाई काम पाउँन धेरै गाह्रो भएन। कोहि नयाँ हुनुहुन्छ र यता आफन्त कोहि पनि हुनुहुन्न भने सुरुसुरुमा काम खोज्न धेरै गाह्रो हुन्छ। मैले हस्पिटलको सरसफाईबाट कामबाट सुरु गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
अष्ट्रेलियाको बसाईले मलाई धेरै कुराहरु सिकाएको छ। को मान्छे सँग कसरि बोल्ने, कोसलाई कस्तो व्यवहार गर्ने, समयको बचत गर्न, पैसाको महत्तो, पैसा कमाएपछि सबैको प्यारो हुने जस्ता धेरै कुरा सिकाएको छ। यहाँको राम्रो पक्ष भनेको आफ्नो देशको विभिन्न ठाउँको मान्छेहरुलाई चिन्न पाइन्छ, एक्लै रमाउन, दु:ख अनुसारको आम्दानी जस्ता धेरै छन्। परिवारबाट टाडिनुको पिडा, दिनरात नभनी काममा खटिनुको पिडा, विरामी हुँदा आराम गर्न नपाउनुको पिडा नराम्रो लाग्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका अगुवाहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
म पढाई र काममा धेरै ब्यस्त भएका कारण सहभागी हुन पाउँदिन त्यसैले समुदायका अगुवाहरुलाई केहि सुझाव छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
आफ्नो परिवारबाट कति धेरै टाढा छु सम्झना त हरपल आउछ नि। जब विरामी हुँदा पनि सकि नसकी काममा जानु पर्दा धेरै सम्झना आउँछ। यहाँ विरामी हुँदा तातो पनि दिने पनि कोहि हुदैन। परिवारको साथमा भएको बेलामा आफ्नो शरीरले पनि धेरै ख्याल पाउँथ्यो। दिनमा एकचोटी भएनी बोल्न पाउछु त्यसमा नि धेरै खुसी लाग्छ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउँन चाहने नयाँ विद्यार्थीले आफु माथि धेरै हिम्मत राखेर मात्र आउँनु होला। हामीले त्यहाँ हेरेको अष्ट्रेलिया र यहाँ आएर भोगेको अष्ट्रेलियामा धेरै नै फरक छ। हजुरहरुको बुवाआमाले पनि हजुर माथि धेरै आशा राख्नु हुन्छ। आफुले जस्तो समय परिस्थिती आएपनि गर्न सक्छु भन्ने भावना लिएर मात्र आउँनु होला। हजुरहरुले कुनै सिप सिकेर आउँनु भयो भने हजुरलाई यहाँ आइसकेपछि काम खोज्न सजिलो हुन्छ। आफ्नो बुवाआमाको काखमा बसे जस्तो सजिलो छैन अरुको देशमा बस्न धेरै गाह्रो हुन्छ। अष्ट्रेलियामा रहनुभएका कोहि आफन्त, साथीहरु हुनुहुन्छ भने उहाँहरु सित राम्रोसँग बुजेर मात्र आउँनु होला। अभिभावकले बुज्नु पर्ने कुरा भनेको आफ्नो छोराछोरीले कत्तिको दु:ख गर्न सक्ने हिम्मत छ त्यो बुजेर मात्र पठाउनु होला। छोराछोरी भन्दा पहिला पैसा मात्र नहेर्नु होला। उनीहरुलाई काम गर्न होइन पढ्न पठाएको हो भन्नि सम्झिनु होला।

,