खेलकुद कार्यमा मात्र नभई सामाजिक कार्यमा पनि आबद्ध :रोयल वेस्टर्न क्लब

0
265
RWC
RWC

रोयल वेस्टर्न क्लब एउटा स्पोर्ट क्लब हो। यसले पश्चिमी मेलबर्नका सबै छरिएका नेपाली विद्यार्थीहरूलाई खेलकुदको माध्यमबाट एकता बद्ध बनाउदै आएको छ। साथै यसले विशेष गरि खेलकुद संगसंगै सामुदायिक कार्यक्रमहरु गर्दै आएको छ। जसमा रक्तदान कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गरि गत वर्ष जस्तै यस वर्ष पनि नेप्लिज एसोसिएसन अफ भिक्टोरियासंगको सहकार्यमा मल्टीकल्चरल सकर टुर्नामेन्ट सम्पन्न गरेको छ। क्लबले कोभिडको समयमा कोष संकलन गर्ने कार्य पनि गरेको थियो। विभिन्न खेलकुद टिमहरु मध्य रोयल वेस्टर्न क्लब पनि प्रतिस्प्रधी टिमको रुपमा नाम कमाउदै आएको क्लब हो। जसमा “NAV EXCELLENCE AWARD 2022” जित हात पार्न सफल भएको छ। त्यसैगरी अष्ट्रेलियन फुटबल इन्टरनेशनलद्वारा आयोजना गरिएको नेपाल टिमबाट AFI Footy World Cup 2022-Division 2 मा सहभागिता जनाएसंगै आफ्नो जित सफलतापूर्वक हासिल गरी इतिहास रच्न समेत सफल भएका छन्।

यसै बिचमा हिमालयन कंगारू डटकम अन्तर्गत आज हामीले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूलाई खेलकुदको माध्यमबाट एकता बद्ध बनाउदै आएको रोयल वेस्टर्न क्लबमा आबद्ध भई सचिव पदमा रहेर विभिन्न खालका कार्यक्रमको आयोजना गर्दै आउनु भएका सुशील चालिसेसंग कुराकानी गरेका छौं।

यो संस्थासंग आबद्ध हुनुभएको कति वर्ष भयो ?
म यो संस्थासंग आबद्ध भएको ३ वर्ष भयो। म यो क्लबसंग समावेश भएपछी क्लबले विभिन्न खेलकुद गतिबिधिसंगै सामुदायिक क्रियाकलापहरु गर्दै आएको छ। कोभिडभन्दा अगाडीदेखि नै नेपालबाट चर्चित कलाकारहरु पनि ल्याएर यस क्लबबाट नयाँ वर्ष धमाकामा विभिन्न कार्यक्रमहरु पनि गरेका थियौ।

कुन पदमा रहेर कार्य गरिराख्नु भएको छ ?
म सचिव पदमा रहेर कार्य गर्दै आइरहेको छु।

यो संस्थासंग आबद्ध हुनुको मुख्य उद्देश्य के छ ?
म चाहिँ विभिन्न सामाजिक गतिबिधिहरुमा संलग्न भइरहने क्रममा यस क्लबमा आबद्ध सल्लाहकारहरु, सदस्यहरुसंग मेरो परिचित भयो। अनि उहाँहरुले पनि मलाई हामीसंग बसेर कार्य गरौ भनेर अनुरोध पनि गर्नु भयो। यसरी अनुरोध गर्नु भएपछी मैले उहाँको कुरालाई स्वीकार गरि यस संस्थासंग जोडिन पुगेको थिए

अहिलेसम्म के-कस्ता कार्यहरु गर्दै आउनुभएको छ ?
म यस संस्थासंग आबद्ध भइसकेपछि सकरको साथसाथै विभिन्न खालका सामाजिक क्रियाकलाबहरु गर्दै आइरहेका छौं। त्यसमा मुख्यतय रक्तदान कार्यलाई विशेष जोड दिएर अगाडी बढाएका छौं। पहिलो वर्ष रक्तदान कार्य भिक्टोरियामा गरी सफलतापुर्वक सम्पन्न गर्न सक्षम भएका थियौं, भने यस वर्ष अष्ट्रेलिया वाइड रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न गर्यौ। जसमा अष्ट्रेलियाका हरेक स्टेटबाट पुराना रक्तदाता तथा नयाँ रक्तदाता गरी उत्साहजनक मानिसहरुको सहभागिता रहेको थियो। खासमा यो कार्य रेडक्रससंग सम्बन्धित कार्यहरु हुन्। म पनि एउटा रक्तदाता हो, मैले नेपालबाट नै सुरु गरेको यस काम अहिले अष्ट्रेलियामा पनि निरन्तरता दिईरहेको छु। यसै क्रममा रेडक्रसको म्यानेजरसंगको कुराकानी गर्दा संस्थागत रुपमा रक्त्तदान गर्न मिल्छ कि मिल्दैन भन्ने कुरामा उहाँहरुले संस्थागत रुपमा गर्न मिल्छ भन्ने कुरा जनाउनु भयो। कसरी गर्न मिल्छ भन्दा, एउटा ‘लाइफ ब्लड’ टिम बनाउन पर्ने रहेछ। त्यसपछि मैले रोयल वेस्टर्न कै नाममा ‘रोयल वेस्टर्न क्लब लाइफ ब्लड’ टिम भनेर बनाएर दर्ता गर्यौ। यसरी हाम्रो संस्थाबाट अहिले सम्म ११२ जनाले रक्तदान गरेका छन्, जसमा ब्लड र प्लाज्मा दुवै छ। अहिले सम्मको रेकर्डमा हाम्रो टिमबाट ३३६ जनाको ज्यान बचाउन सफल भएका छौं। यस्तो समाजिक कार्य गर्न पाउदा म लगायत सम्पूर्ण क्लब टिमलाई गर्वको महशुस हुने रहेछ। साथै विभिन्न संघसंस्थाहरुको सहकार्यमा विभिन्न प्रकारका सामाजिक हित हुने खालको गतिबिधिहरु गरिरहेको छौं। ‘First Aid Mental health ‘ तालिमहरुको आयोजना गरेका छौं। Physical Fitness को साथै किड्स सकर जस्ता विभिन्न खालका तालिमहरुको आयोजना गरेका छौं। कुनै कार्यक्रम हामी आफैँले गरेका छौं भने कुनै कार्यक्रमहरु अरु संघसंस्थाहरुको सहकार्यमा गर्दै आएका छौं। यस सँगसंगै भविष्यमा पनि विभिन्न खालका कार्यक्रमहरु गर्ने योजना पनि गराएका छौं।

अष्ट्रेलियामा रहने नेपालीहरुलाई यस संस्थाले कति सम्म सहयोग पुर्याएको छ ?
यो खेलकुद क्लब भएको हुनाले हामीले खेलकुद माध्यमबाट यहाँका अन्तराष्ट्रिय विद्यार्थी भाईबहिनीहरुलाई खेलकुद मार्फत सहयोग गरिरहेका छौं। यही क्लबमा आबद्ध भएका भाईबहिनीहरुलाई बसाई सम्बन्धि र नयाँ आएका भाईबहिनीहरुलाई जे कुराको पनि गाह्रो पर्ने हुँदा त्यो समयमा क्लबको तर्फबाट सक्दो सहयोग गरिरहेका छौं। हाम्रो सम्पर्कमा भएका साथी भाईहरुलाई कामको समस्या परेको खण्डमा काम पनि खोज्दिने गरेका छौं। त्यसैगरी खेलाडीहरु खेल खेल्ने क्रममा कहिले कहिँ चोटपटक लाग्न सक्छ त्यो समयमा हामीले भावनात्मक, आर्थिक र मानसिक रुपमा क्लबले जति सक्छ सोहि अनुसार सहयोग गर्दै आएको छ। यो क्लब खेलकुद सम्बन्धी भए पनि खेलकुद मात्र होइन कि खेलकुद मार्फत र सामाजिक कार्य गर्दा समुदाय पनि बढ्नुका साथै उनीहरुलाई परेको समस्या सक्दो हात दिईरहेका छौं। सबै कुरामा सहयोग गर्न सक्छु भन्ने हुँदैन तर पनि हामीले सक्दो सहयोग तालिम मार्फत हुन्छ की अर्थात् आर्थिक रुपमा परिपूर्ति गर्दै आएका छौं। मैले चाहिँ मेरो फेस बुकमा पनि रक्तदान सम्बन्धि पोस्टहरु सेयर गरिरहेको हुन्छु। धेरै साथीहरुले सोधपुछ गर्ने गर्नु हुन्छ त्यही अनुसार हामीले बुकिङ्ग गरिदिने गर्छौ। यस्तो कार्य निरन्तर गरिरहेका हुन्छौ, रक्तदान कार्य हामीले औपचारिक रुपमा वर्षको एकचोटी गरिरहेका हुन्छौं। धेरै संघ संस्थाहरुले हामीसंग जोडिएर सहयोग गरिराख्नु भएको छ। त्यसकारण यसले भिक्टोरियामा छुट्टै छाप बनाउन सफल भएको छ।

यस संस्था/समुदायसंग रहेर अबको आउदो दिनहरुमा के के कार्य गर्ने योजना बनाउनु भएको छ ?
विशेष हामीले गर्ने भनेको त समुदाय कार्यक्रम र खेलकुद कार्यक्रम हो। विभिन्न खालको टुनामेन्ट आयोजना गर्ने र समुदाय कार्यबाट विभिन्न तालिमहरु र कार्यक्रमहरु गर्ने योजना गर्दै अगाडी बढिरहेका छौं।