“अष्ट्रलियामा पढाईलाई प्राथमिकता दिन सकियो भने अगाडी बढ्न सहज”

0
174
australia-education
australia-education

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएका इन्दिरा न्यौपानेसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर भरतपुर, चितवन हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ३ वर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
मेरो बाबु सानो भएकोले बाबुको हेरचाह गर्नुपर्ने हुदाँ केहि काम गर्न पाएको छैन।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले +२ लेभलको पढाई सकेर काम गर्न अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
अष्ट्रेलियाको पढाइलाई प्रथामिकता दिएर अगाडी बढ्न सकियो भने यहाँ मात्र नभई अन्य देशमा गएर पनि आफ्नो करियर बनाउन सकिन्छ। आफ्नो पढाई अनुसारको काम गरि अष्ट्रेलियामा नै सेटल हुन् सकिन्छ। कामसंगै पढाईलाई पनि निरन्तर रुपमा अगाडी बढाउन सकिन्छ। राम्रोसंग पढाई सकेपछि आफ्नो परिवारलाई पनि यतै सेटल गराएर राख्न सकिन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले नेपालबाट अष्ट्रेलिया आउँदा त्यस्तो केहि सोचेकी थिइन। अष्ट्रेलिया आएपछि धेरै मेहनत गर्नु पर्ने, समयमै खाना खान नपाउने, परिवारसंग धेरै कुराकानी गर्न नपाउने जस्ता धेरै समस्याहरु भोग्नु पर्छ। अष्ट्रेलिया आईसकेपछि जस्तो सुकै परिस्थिति आएपनि पछि हट्ने छैन भनि काम गरिरहनु पर्छ। नेपालको परिवेश भन्दा फरक हुनेहुँदा मेहनत गरिरहनु पर्छ।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
नचिनेको, नजानेको ठाउँमा पहिलो चोटी आउँदा कसैलाई पनि सहज हुँदैन सुरुसुरुमा काम पाउन निकै गाह्रो हुन्छ। मेरो आफन्त पहिलैबाट यतै भएको हुँदा मलाई काम खोज्न त्यति गाह्रो भएन। आएको १ महिना पछि हाउस क्लिनिङ्गको कामबाट सुरु गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मलाई अष्ट्रेलियाको बसाईले मेहनत गर्न, आत्मानिर्भर बढाउन, समयको सदुपयोग जस्ता धेरै कुराहरु सिकायो । यहाँ आएपछि थाहा भयो काम सानोठुलो जस्तो भए पनि गर्नुपर्छ। जीवन सोचेको जस्तो छैन। आफ्नो लागि आफैँ निर्णय लिनुपर्ने रहेछ। के गर्ने, कसरी गर्ने सबै कुराको निर्णय आफुले नै लिनुपर्छ। संघर्ष गरेर पढ्नेहरुलाई सोहि अनुसारको फल पाउन सकिन्छ। चांडपर्वहरुमा आफ्नो परिवारसंग बसेर मनाउन पाईदैन, आफुलाई घर जान मन लाग्दा बिदा मिल्दैन, बिरामी हुँदा पनि काममा जानु पर्ने जस्ता धेरै नराम्रो कुराहरु छन्।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
म आफु समावेश नभएको हुँदा समुदायका लिडरहरुलाई पनि केहि सुझाव छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
अष्ट्रेलियामा आएपछि याद त धेरै आउँछ, काम नपाउदा अझ बढी बाबाआमाको याद आउँछ। याद आए पनि दिनदिनै कुराकानी हुने हुँदा संगै भए जस्तो लाग्छ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउँदा राम्रोसंग बुझेर आउनुहोला। यहाँ अरुले फोटो खिचेर होलेको देखेर नआउनुहोला। सुरुसुरुमा काम पाउन निकै गाह्रो हुन्छ, आत्तिनु हुँदैन। कतिले घरबाट नै पैसा पठाएर पढी रहनु भएको छ। सिप सिकेर आउनु भयो भने एकदमै सजिलो हुन्छ र काम पाउन सजिलो पनि हुन्छ। केहि मानिसहरुले नबुझेर आउँदा काम गाह्रो भएर फर्किएका छन्। आफ्नो छोराछोरीलाई एकदमै बुझेर मात्र पठाउनुहोला, अष्ट्रेलिया कुनै पैसाको देश होइन। पैसा कमाउनको धेरै मेहनत गर्नुपर्छ अष्ट्रलियामा त्यसैले अभिवाकले पनि छोराछोरीलाई सपोट गरिदिनुहोला भन्नचाहन्छु।