“अष्ट्रेलियाको दु:ख र संघर्षलाई जटिल रुपमा लिनुहुँदैन”

0
160

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलवर्नमा बसोवास गरिरहनुभएका सुमित थापासंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो नेपालको घर पोखरा हो।

अष्ट्रेलिया जानुभएको कति भयो ? हाल अष्ट्रेलियाको कुन ठाउँमा बस्नु हुन्छ ?
म अष्ट्रेलिया आएको ७/८ वर्ष भयो। हाल म अष्ट्रेलियाको मेलवर्नमा बस्छु।

अहिले के गर्दै हुनुहुन्छ ?
अहिले म काम गर्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
म नेपालबाट +२ सकेर आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
अष्ट्रेलियाको पढाई धेरै राम्रो हुने हुँदा आफ्नो करियर नि धेरै राम्रो अनि छिटो निर्माण गर्न सकिन्छ। यहाँको पढाईले यहाँ मात्र नभई अन्य देशहरुमा गएर पनि आफ्नो पढाई अनुसारको जागिर खोजेर आफ्नो करियर बनाउन सकिन्छ। अष्ट्रेलिया आइसकेपछि आफ्नो पढाई सकेर त्यहि अनुसारको काम गर्दै गएपछि यतै सेटल भएर आफ्नो परिवारलाई नि यतै सेटल गराउन सकिन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
नेपालमा मैले सोचेको अष्ट्रेलिया र यहाँ आएर भोगेको अष्ट्रेलियामा आकाश र पातलको फरक पाए। सोचेको भन्दा धेरै नै फरक छ। आफ्नो देशमा हुँदा परिवारको काखमा बसे जस्तो नहुने रहेछ। अरुको देशमा आईसकेपछि दु:ख होस् या सुख सबै सहन पर्ने रहेछ। अरुले १५ सेकेन्डको भिडियो हाले र फोटो हाले भन्दैमा दु:ख नहुने रहेछ भनेर नसोच्नु होला। देखेको र आफुलाई परेर गरेकोमा धेरै फरक हुन्छ।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
नेपालबाट म त यहाँ एक्लै आएको थिए। कोहि चिनेको थिएन, नचिनेको ठाउँमा एक्लै आफुलाई काम खोज्नको लागि धेरै गाह्रो भएको थियो। मैले भाडा माझ्नेबाट काम सुरु गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
अष्ट्रेलियाको बसाईले मलाई धेरै कुरा सिकाएको छ। पैसा कमाउन, आफु एक्लै एक्लै रमाउन, समयको म्यानेज गर्न जस्ता धेरै राम्रो कुराहरु सिकायो। आफ्नो परिवारबाट टाढिनुको पिडा, आफु बिरामी भएपनि काममा जानु पर्ने, चाडपर्वहरुमा पनि आफ्नो देश जान नपाउनु जस्तो धेरै कुराहरु नराम्रो लाग्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
मलाई नेपाली समुदायसंग खासै समाबेश छैन, त्यसैले लिडरहरुलाई दिने सुझाव पनि केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
सम्झना त हरपल आउँछ नि। आफ्नो परिवारसंग त दिनमा एकचोटी भएपनि फोनमा बोल्न पाउछु, त्यसैमा खुसी हुन्छु।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउँन चाहने नयाँ विद्यार्थीहरुले आफुसंग केहि सिप छैन भने सिप सिकेर मात्र आउनु होला। बिना सिप हजुर अष्ट्रेलिया आउनु भयो भने यता आएपछि धेरै दु:ख पाउनु हुन्छ। केटाहरुले कुक, ड्राईभीङ्ग र केटीहरुले डिजाईङ्ग, पर्लोर, टेलर जस्ता धेरै कुराहरु सिकेर आउँदा काम पाउन धेरै सहज हुने गर्छ। यहाँको दु:ख र संघर्षलाई जटिल रुपमा लिनुहुँदैन, हाम्रो जीवनको पहिलो खुट्किलो हो भन्ने सोचेर काम गर्यो भने सबै ठिक हुन्छ। अभिभावकहरुले आफ्नो छोराछोरीहरुलाई पैसा मात्र भनेर नपठाउनु होला। यहाँ पढ्न आएका हुन्छ, तिनीहरुलाई आर्थिक रुपले होस् या भावनात्मक रुपले होस् सपोर्ट दिइराख्नुहोला। यहाँ आएपछि झन् आफ्नो अभिभावकको खाचो परेको हुन्छ, त्यसैले हरेक अवस्थामा सहयोग र सल्लाह दिइराख्नुहोला भन्न चाहन्छु।