“आफ्नो भविष्य निर्माण गर्न जाने हो, सेटल हुन होइन : अष्ट्रेलिया”

0
264

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले गैंडाकोट-१६, अमरापुरी घर हुनुभएको देवी बस्नेतसंग कुराकानी गरेका छौं

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
मलाई अष्ट्रेलियाबाट मेरो छोरीले पठाईदिएकी हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफुले कमाएको पैसाले घरमा भएको बुढा आमाबुवालाई सम्झेर उपहार पठाउँदा धेरै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनी अष्ट्रेलिया गएको ८ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
छोरी अष्ट्रेलियाको सिड्नीमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
मेरी छोरी अष्ट्रेलिया गएकोमा राम्रो नि लाग्छ नराम्रो नि लाग्छ। घरको समस्या बुजेर र आफ्नो पढाई राम्रो होस् भनेर गएको हुँदा राम्रो लाग्छ। अरुको देशमा उनी एक्लै घरपरिवारबाट टाढा छिन्, कति दुख छ होला एक्लै उसलाई यही सम्झिएर नराम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
धेरै सम्झना आउँछ। कहिले होला संगै छोरीसंग बसेर चाडपर्वहरु मनाउने जस्तो लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
नेपाल नै आएर केहि गरेको ठिक लाग्छ। उनीहरुले उता बसेर कमाएको पैसा हेरेर नेपाल आएर पैसा कमाएको नै देख्दैन। नेपालमा नि केहि गरेर खान सकिन्छ तर सबै नेपालीहरु विदेश गएसी आफैँ पैसा पाईन्छ जस्तो गरेर विदेशिने गर्छन्। जति दुख भएपनि आफ्नै देश हो,केहि वर्ष उतै बसेर, घुमेर र आफ्नो पढाई सकेर आफ्नै देशमा फर्किनु जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया दुइ चोटी गएको छु।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
मलाई त्यहाको सबै कुरा मन पर्छ। नराम्रो भन्नको लागि केहि छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
कयौं नेपालीहरु यी देशहरुमा गएर सेटल हुनु पनि मजबुरी हुन्छ। दु:ख नगरी खान पुग्दैन। आखिर जहाँ बसेपनि आफुले मेहनत त गर्नै पर्ने हुन्छ, त्यसैले मलाई के लाग्छ भने आफु जुन ठाउँमा बसेपनि परिवारको हेरचाह र आमाबाबुलाई गर्ने माया कम गर्न हुँदैन जस्तो लाग्छ। बाकि आफ्नो जिन्दगी हो जहाँ जसरी आफुलाई सजिलो हुन्छ, त्यहि नै बस्दा हुन्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
नयाँ वर्षको शुभकामना ! अष्ट्रेलियामा बसेर धेरै उन्नति प्रगति गर्दै जानु र आफ्नो आमाबाबुलाई कहिल्यै नबिर्सनु।