

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको स्ट्राथफिल्डमा बसोवास गरिरहनुभएका प्रविन रिजालसंगको कुराकानी प्रस्तुत गरेका छौँ।
नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर नेपालमा दाङ हो।
अष्ट्रेलिया जानुभएको कति भयो ? हाल अष्ट्रेलियाको कुन ठाउँमा बस्नु हुन्छ ?
म अष्ट्रेलिया आएको २ वर्ष भयो। हाल अष्ट्रेलियाको स्ट्राथफिल्डमा बस्छु।
अहिले के गर्दै हुनुहुन्छ ?
म अहिले काम गर्दै छु।
नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
नेपालमा इन्जिनिरियङ्ग लेभलको पढाई सकेर आएको हो। म डिपीडेन्टमा आएको हुँदा पढाई सुरु गरेको छैन।
तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
मेरो विचारमा यहाको पढाईले आफ्नो करियर बनाउन धेरै नै सहज बनाउछ किनभने यहाँको पढाई राम्रो हुने हुँदा अन्य देशहरुमा गएर पनि आफ्नो करियर बनाउन सकिन्छ। आफुले पढाई अनुसारको मेहेनत गर्दै गयो भने त्यहि अनुसारको फल पाइन्छ। त्यसैले आफ्नो करियर बनाउन निकै सहज हुन्छ। पढाईलाई कसरी अगाडी लैजाने भन्ने आफुमा भरपर्ने कुरा हो।
नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले त्यस्तो धेरै सोच राखेर आएको थिएन नेपालमा सोचेको अष्ट्रेलिया र यहाँ आइसकेपछि भोगेको अष्ट्रेलियामा धेरै नै फरक छ। नेपालमा जस्तो समय तोकेको जागिर गर्छु भन्न पाइदैन, यहाँ बिहान दिउसो बेलका नभनी जति टाढा भएनी काममा जानु पर्छ। सधै साजी र तात्तातो खाना खान्छु भन्न पाइदैन १/२ दिनको खान तताएर पनि खानु पर्छ। जति नेपाल हुँदा सोचेको थिए त्यो भन्दा केहि फरक पाएको छु।
काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
नयाँ ठाउँ, नयाँ मान्छे भएको ठाउँमा आएर काम पाउन त धेरै गाह्रो नै हुन्छ नि ! यदि पहिले आएको पुरानो कोहि आफन्त हुनुहुन्छ, भने आफुलाई अलि केहि सजिलो हुन्छ काम खोज्नको लागि नभए सुरुसुरुमा एक्लैलाई धेरै गाह्रो हुन्छ । मलाई मेरो आफन्त भएको कारणले गर्दा त्यति दुख भएको थिएन। मैले सुरुमा किलिनरबाट काम सुरु गरेको हो।
अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
अष्ट्रेलियाको बसाईले मलाई पैसा कमाउन, आफ्नो भविष्य बनाउन संघर्ष गर्न र समयको महत्त्व र अरुको नोकरी गर्दा कत्ति को गाह्रो हुन्छ भन्ने जस्ता धेरै कुराहरु सिकायो। यहाको राम्रो पक्ष भनेको आफु बिजी भइन्छ, नेपाली दाजुभाईहरुसंग चिन्न सकिन्छ, यहाँको पढाई राम्रो हुने हुँदा पैसा कमाउन सकिन्छ। नराम्रो पक्षहरु मलाई केहि लाग्दैन।
अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
मलाई अष्ट्रेलियाको नेपाली समुदाय एकदमै मन पर्छ किनभने कुनै नेपाली चाडपर्वहरु आउँदा एक्लै छु जस्तो लाग्दैन सबैजना एकजुट भई रमाइलो गर्छन। कुनै नेपालीलाई गाह्रो पर्दा सबै मिलेर सहयोग गर्छन। नचिनेको ठाउँमा गएर पनि सबै नेपाली दिदीबहिनि दाजुभाईहरुलाई देख्दा रमाइलो लाग्छ। समुदायको लिडरहरुलाई के सुझाव दिन चाहन्छु भने यहाँ जति पनि नेपाली छन् उनीहरुको राम्रो संग ख्याल राख्नु होला कसैलाई केहि गाह्रो परे आफ्नै सम्झेर सहयोग गर्नु होला भन्न चाहन्छु।
अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
नेपालमा हुँदा घर छोडेर आफन्तकोमा जादा त सम्झना आउथ्यो भने अहिले झन् देश नै छोडेर आएको छु सम्झना त धेरै नै आउछ नि।
अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
मान्छेहरुले समुन्द्रमा गएर फोटो र टिकटक हाल्यो भन्दैमा त्यहाँ केहि गाह्रो छैन भन्ने सोच्छन् जब आफुलाई परिसकेपछि मात्र थाहा हुन्छ। त्यसै हावा तालमा नहिड्नु होला पहिला आफुले म जस्तो परिस्तिथी आए पनि गर्छु भनेर हिम्मत राखेर मात्र आउनु होला। यहाँ आएपछि धेरै गाह्रो हुन्छ। अनि अभिभावकले बुझ्नु पर्ने कुरा पैसा मात्र भनेर आफ्नो सन्तानलाई विदेश नपठाउनु होला, उसले कत्तिको गर्न सक्छ कत्तिको बुज्छ भनेर मात्र पठाउनुहोला। अष्ट्रेलिया कुनै पैसाको देश होइन पैसा कमाउनलाई दिनरात नभनी खटिनु पर्छ। कतिपय नेपालीहरुलाई नेपालबाट आफ्नो परिवारले पैसा पठाईदिएर पढिरहेका छन् भने कति नेपाली काम गर्न नसकेर आफ्नो परिवारले पनि पैसा पठाउन नसक्दा नेपाल फर्किएका छन्। भनेको र देखेको जस्तो नभएको हुँदा धेरै कुरामा ध्यान पुराएर मात्र आउनुहोला भन्न चाहन्छु।