

काठमाडौं। नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीसँगको खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् ।
नेपाललाई १५ रनको रोमान्चक जित दिलाउन सन्दीपले तीन महत्वपूर्ण विकेट लिएका थिए । १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.३ ओभरमा १ सय ६८ रनमा अल आउट भयो । पपुवा न्युगिनीका नर्मन भानुवाले २९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५२ रनको आक्रामक इनिङ खेले । भानुवाले आक्रामक ब्याटिङ गर्दै एक समय पपुवा न्युगिनीलाई जित नजिक पुर्याएका थिए । सन्दीपले पपुवा न्युगिनीका मध्यक्रमका तीन विकेट लिएका थिए । सन्दीपले असाद भालालाई ७ रन, सेसे बाउलाई ३० रनमा एलबीडब्लू र जेसन किलालाई शून्यमा आउट गरेका थिए । सन्दीपले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए ।
सन्दीप टि२० आई करिअरमा तेस्रो पटक प्लेयर अफ द म्याच चुनिएका हुन् । सन्दीप दुई महिना अघि आइसिसी टि२० विश्वकप छनोट ए मा क्यानडा र ओमानसँग खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । पपुवा न्युगिनीलाई ८ बलमा जितको लागि १७ रन चाहिँएको थियो । करणले १९ औं ओभरको पाँचौ बलमा नर्मनलाई एलबीडब्लू आउट गर्दै नेपालको जित पक्का गराए । करणको लगतै अर्को बलमा विकेटकिपर शिमोन आतीको लङअफमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट क्याच लिएपछि खेल नेपालको पक्षमा मोडिएको थियो ।