“अष्ट्रेलिया कुनै पैसाको देश होइन, कमाउनलाई आफुले संघर्ष गर्नैपर्छ”

0
196

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएका राहुल पन्तीसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर काठमाडौँ, माछापोखरी हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ४ बर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
म अहिले अष्ट्रेलियामा काम गर्दै छु।

नेपालबाट कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालबाट +२ लेभलको पढाई सकेर आइ टि पढ्न अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
अष्ट्रेलियामा पढाईलाई प्राथमिकता दिएर अगाडी बढ्न सकियो भने, अन्य देशमा गएर केहि गर्छु भन्नु हुनेको लागि पनि अवसर धेरै छ र यही सेटल हुन्छु भन्नु हुनेहरुको लागि पनि धेरै राम्रो छ। पढाईलाई कसरी अगाडी लैजाने भन्ने आफुमा भरपर्ने कुरा हो।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले नेपालबाट अष्ट्रेलिया आउँदा धेरै आस राखेको थिइन। जस्तो सुकै परिस्थिति आइ लागेपनि पछि हट्ने छैन भन्ने मनमा थियो। नेपालको परिवेशमा त केहि फरक हुन्छ नै। तर, सोचेको भन्दा धेरै फरक भने पाइन।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
नजानेको ठाउँमा पहिलो चोटी आउँदा कसलाई पो सहज हुन्छ र ! पहिला गाह्रो नै थियो। मैले पनि अष्ट्रेलिया आएको २/३ महिना पछि सुपर मार्केटमा काम पाएर गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मलाई अष्ट्रेलियाको बसाईले आत्मनिर्भर हुन, संघर्ष गर्न र समयको महत्त्व सिकायो। जीवन सोचे जस्तो सजिलो छैन । आफ्नो लागि आफैँ निर्णय लिन सकिन्छ, यहाँ काम सानो ठुलो भन्ने हुँदैन जस्तो भए पनि सबैलाई समान इज्जत दिन्छन्। मेहनत गरेर पढ्नेहरुको लागि आफ्नो पढाईको लाईनमै काम पाइन्छ। दुख गरे अनुसारको फल पनि पाइन्छ। यहाँको नराम्रो भन्नलाई अल्लि बढी नै स्वतन्रता छ यसलाई कति पयले नकारात्मक रुपमा लिनुहुन्छ र गलत बाटो रोज्नु हुन्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
मलाई यहाँको समुदायसंग खासै नजिक नभएकोले पनि होला राम्रो पनि लाग्दैन र नराम्रो पनि लाग्दैन। केहि छैन

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
त्यति धेरै त आउदैन तर कहिलेकहिँ चाहिँ आउने गर्छ। कामको व्यस्तताले पनि खासै फुर्सद हुँदैन।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
राम्रो संग बुझेर आउदा धेरै राम्रो हुन्छ। अरुले समुन्द्रमा गएर फोटो खिचेर हालेको देख्दैमा नआउनु आफ्नो लागि जस्तो सुकै कठिन परे पनि सामना गर्न सक्छु भन्ने सोचले आउनु। काम गर्न नसकेर कति युवा नेपालबाटै पैसा पठाएर पढेका पनि छन् त कति नेपाल फर्किएका पनि छन् सबै कुरा बुझेर आउनु । अष्ट्रेलियाबाट मात्र नभई नेपालबाट पनि सिप सिकेर आउदा धेरै राम्रो हुन्छ। आफैँ नेपालबाट केहि सिप र ड्राइभिङ सिकेर आउनु भयो भने गाडी किनेर काम पढाई गर्न सहज पनि हुन्छ भन्न चाहन्छु। अभिभावकलाई म के भन्न चाहन्छु भने आफ्ना छोराछोरीप्रति ठुलो आशा नराख्दिनुहोला। अष्ट्रेलिया कुनै पैसाको देश होइन आएपछि पाइहाल्ने, यहाँ पनि पैसा कमाउनलाई आफुले मेहनत गर्न सक्नुपर्छ। छोराछोरीलाई हरेक अवस्थामा पनि सपोर्ट गरिराख्नुहोला।